Sagun Khabar
बैतडीमा जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी 

बैतडी –बैतडीमा असार १६ गतेदेखि निषेधाज्ञा थप खुकुलो पार्ने तयारी भएको छ । पछिल्लो पटक थपिएको निषेधाज्ञाको अवधि असार १५ गते राती १२ बजे सकिदैछ । असार १६ गतेदेखि जिल्लाभित्र सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । उनले भने ‘डीसीसीएमसीको बैठकले निषेधाज्ञालाई थप खुकुलो पार्ने निर्णय गरेको छ । सोही अनुसार सार्वजनिक यातायात पनि जिल्लाभित्र सञ्चालन हुनेछ ।’

यातायातका साधन सञ्चालन गर्दा चालक र सहचालकको अनिवार्य एन्टीजेन परीक्षण गरेर मात्रै सञ्चालन गर्ने दिने जिल्ला कोभीड १९ व्यवस्थापन समितिको बैठकले निर्णय गरिसकेको भारतीले बताए । उनले भने ‘सवारी साधनहरुले आफ्नो क्षमताको आधा सीटमा मात्रै यात्रु बोक्न पाइनेछ । स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ ।’

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै व्यापारीहरुले पनि १५ औं दिनमा अनिवार्य कोरोना परीक्षण गर्नुपर्ने निर्णय भएको छ । असार १६ गतेदेखि जिल्लामा सबै कार्यालयहरु पनि सञ्चालन हुने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी भारतीले बताए । कोरोना संक्रमणदर घट्दै गएकाले कार्यालयका सेवाहरु सुचारु गर्ने तयारी भएको उनले बताए । कार्यालयहरुले सेवा सञ्चालन गर्दा स्थानीय तहका लागि बार छुट्याएको उनले बताए । 

गएको वैशाख २० गतेदेखि जिल्लामा जारी रहेको निषेधाज्ञा असार १६ गतेदेखि थप खुकुलो पार्ने निर्णय भएको हो । कोरोना भाईरसको संक्रमण तीव्र रुपमा फैलिएपछि शुरु भएको निषेधाज्ञा संक्रमणदर घट्दै गएपछि खुकुलो पार्ने तयारी भएको हो । 

अहिले जिल्लाका ७ ओटा स्थानीय तहमा मात्रै कोरोनाका सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित रहेका स्थानीय तहमा पनि संक्रमितको संख्या थोरै रहेको छ । निषेधाज्ञा खुकुलो पारेपनि स्वास्थ्य मापदण्डमा भने कडाई गरिने सूचना अधिकारी भारतीले बताए ।

प्रकाशित मिति: आइतबार, असार १३, २०७८  १०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update