Sagun Khabar
दार्चुलाको खलङ्गा–दल्लेख सडक अवरुद्ध हुँदा  तरकारी किसान समस्यामा 

दार्चुला- दार्चुलाको खलङ्गा–दल्लेख सडक खण्ड ठाउँठाउँमा अवरुद्ध हुँदा तरकारी किसानलाई ढुवानीको समस्या भएको छ । बाटो अवरुद्ध हुँदा गाउँमा उत्पादन भएको तरकारी सदरमुकाम ल्याउन समस्या भएको हो ।

गएको असार दोस्रो हप्तादेखि खलङ्गा–दल्लेख सडक बन्द छ । ठाउँठाउँमा पहिरोले बन्द भएको सडक अहिलेसम्म खुलेको छैन । सडक नखुल्दा मुख्य गरी तरकारी किसान मर्कामा परेका छन् । गाउँमा कोही बिरामी परे स्ट्रेचरमै बोकेर ल्याउनुपर्ने हुन्छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

काम विशेषले सदरमुकाम आवतजावत गर्नेलाई पनि समस्या छ ।दैनिक उपभोग्य सामाग्रीको ढुवानीसँगै तरकारी ढुवानीमा असहज भएको स्थानीय धनसिंह सितोलीले बताए ।  सडक नखुल्दा गाउँमा खाद्यान्नको अभाव हुने चिन्ता बढेको छ । अहिले नौगाड गाउँपालिका–२ दल्लेखका झण्डै ७० घरपरिवारले व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका छन् ।त्यहाँका पाँच सय भन्दा धेरै किसानहरुको बारीमा तरकारी छ । तरकारी बारीमै कुहिने चिन्ता बढेको अर्का किसान माधवसिंह मन्यालले गुनासो गरे  ।

अहिले खलंगादेखि सेलासम्म सडक पूर्णरुपमा अवरुद्ध छ । सडक अवरुद्ध भएसँगै महाकाली नगरपालिकाको काटै, सेला, मैखोली, मुल्ला र नौगाड गाउँपालिका–२ दल्लेखका स्थानीयबासिन्दालाई आवतजावतमा सास्ती भएको छ । दल्लेख क्षेत्रमा उत्पादन भएको तरकारी किसानले बोकेर सदरमुकामसम्म ल्याउनुपर्ने बाध्यता छ ।

नौगाड गाउँपालिका–२ दल्लेखमा अहिले सिम्ला, टमाटर, काक्रो भन्टा, सिमी, रायो, बन्दा काउलीलगायतका तरकारी उत्पादन गरिएको छ ।उत्पादन गरिएको तरकारी जिल्ला सदरमुकाम खलंगामा बेचेर तरकारी किसानले घरमा नुन, दाल र चामल जोहो गर्दै आएका छन् । महाकाली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रप्रसाद घिमिरेका अनुसार नगरपालिकाले बाटो खुलाउन प्रयास गरेको भए पनि सकेको छैन ।

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  ०७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update