Sagun Khabar
महामारीमै झुलाघाट नाकाबाट भारत जानेको लर्को 
झुलाघाट नाकाबाट रोजगारीका लागि भारत गईरहेका नेपाली नागरिक

बैतडी –बैतडीको पुर्चौंडी हाटका केशव बोहरा झुलाघाट नाकाबाट रोजगारीका लागि भारत जान लागेको भेटिए । कोरोना महामारीकै बीचमा भोकको महामारी भएपछि उनी परिवार पाल्नकै लागि भारत गएका हुन् । उनले भने ‘जुन जोगी आएपनि कानै चिरेका जस्तो भएको छ । हामी जस्ता गरिबका लागि सरकार कहाँ छ र ? स्थानीय सरकारले पनि रोजगारीका केही काम सञ्चालन गरेको छ । योजना पनि आफ्ना आसेपासेहरुलाई मात्रै दिएको छ । त्यसैले रोजगारीका लागि भारत जानुको विकल्प छैन् ।’

पुर्चौंडीकै २४ बर्षीय जगदीश बोहरा पनि रोजगारीकै लागि झुलाघाट नाकाबाट भारत छिरेका छन् । गाउँमा युवाहरुका लागि आम्दानी हुने खालका कुनै योजना र कार्यक्रम नहुँदा परिवार पाल्नकै लागि आफू भारत जान लागेको उनले सुनाए । उनले भने ‘हाम्रो खोजी त निर्वाचनको बेला होला । त्यो बेला भोट चाहिन्छ । तर यस्तो महामारीमा पनि सरकार कतै देखिएन् । हामीले जोखिम मोलेर देश छोड्नुपरेको छ ।’

पुर्चौंडीकै मोहन बोहरा मलिन अनुहार लिएर रोजगारीकै लागि भारत छिरेका छन् । कोरोना महामारीको डर हुँदाहुँदै पनि परिवार पाल्न भारत जानुको विकल्प नरहेको उनले सुनाए । उनले भने ‘यो बर्ष हिउँदमा खडेरीका कारण उत्पादन पनि खासै भएन् । परिवार पाल्नका लागि भारत जानै पर्यो । गाउँमा केही काम पाइदैन् ।’

स्वास्थ्य सन्देश
Atrya hospital

स्वदेशमा रोजगारी नपाउँदा महामारीको बीचमै भारत जाने यी केही प्रतिनिधि पात्र मात्रै हुन् । रोजगारीको सम्भावना नहुँदा सैयौं युवा अहिले भारत गईरहेका छन् । ‘रोग भन्दा भोकले मार्ने जस्तो भयो । त्यसैले परिवार पाल्न भारत जान लगेको हुँ ।’बझांगको बुंगल नगरपालिकाका राजुराम महरले भने, ‘गाउँमा काम पाइदैन् । परिवार के ले पाल्ने ? महामारी भएपनि भारत जानुको विकल्प छैन् ।’

निषेधाज्ञामा खुकुलो पारेसंगै झुलाघाट नाकाबाट भारत जानेको संख्या बढ्दै गएको सीमा प्रहरीचौकी झुलाघाटले जनाएको छ । दैनिक डेढ सय बढी नागरिक रोजगारीका लागि झुलाघाट नाकाबाट भारत गईरहेका छन् । झुलाघाट नाकाबाट सुदूरपश्चिमका पहाडी जिल्लाका साथै कर्णाली प्रदेशका विभिन्न जिल्लाका नागरिक रोजगारीका लागि भारत पस्ने गरेका छन् । 

रोजगारीका लागि भारत जानेको संख्या दैनिक बढ्दै गएको झुलाघाट हेल्थ डेस्कमा कार्यरत स्टाफ नर्स मनिषा बुडालले बताइन् । उनले भनिन् ‘दैनिक भारत जानेको संख्या बढ्दै गएको छ । बैतडीका मात्रै नभएर विभिन्न जिल्लाका नागरिक झुलाघाट नाका भएर भारत गईरहेका छन् ।’

कोरोना परीक्षण नहुँदा सास्ती 
रोजगारीका लागि भारत जानेको नेपाल तर्फ कोरोना परीक्षण रोकिएपछि रोजगारीका लागि भारत जानेहरु समस्यामा पर्न थालेका छन् । कोरोना रिपोट नहुँदा सम्म भारतीय प्रहरीले भारत छिर्न दिईरहेको छैन् भने नेपाल तर्फ कोरोना परीक्षण रोकिएको छ । भारत जाने नागरिकको भारतले कोरोना परीक्षण गर्नुपर्ने भए पनि उसले आनाकानी गरिरहेको छ ।

‘हामीले नेपाल फर्कने नागरिकको कोरोना परीक्षण गरिरहेका छौं । भारत जाने नागरिकले भारतले कोरोना परीक्षण गर्नुपर्ने हो तर उसले कोरोना परीक्षण नगर्दा समस्या भएको छ ।’स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले भने, ‘परीक्षण कीटको अभावमा सबैको कोरोना परीक्षण गर्न सम्भव छैन् ।’

अहिले भारत जानेहरु धेरै जसो पालिकाबाट कोरोना परीक्षण गरेर जाने गरेका उनले बताए ।  
 

प्रकाशित मिति: बिहीबार, असार १७, २०७८  ०९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update