Sagun Khabar
उपचार नपाइ ज्यान गुमाउँछन् सर्पदंशका बिरामी 

बैतडी –पछिल्लो समयमा बैतडीमा सर्पको टोकाइबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ । सर्पदंशका बिरामीहरुको उपचारमा सहज पहुँच नहुँदा उनीहरुले अकालमै ज्यान गुमाउनुपरीरहेको छ । 

सर्पले टोकेमा जतिसक्दो चाँडो अस्पतालमा पुर्याउनुपर्ने भएपनि वैद्यको भरपर्दा समेत सर्पदंशका बिरामीहरुले ज्यान गुमाउनुपर्ने अवस्था रही आएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । सर्पले टोकिहालेमा जतिसक्दो चाँडो अस्पताल पुर्याउनुपर्ने भएपनि त्यसो नहुँदा सर्पको टोकाइबाट मृत्यु हुनेको संख्या बढ्दै गएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. दिपेश श्रेष्ठले बताए । 

बैतडीमा गएको वैशाखयता सर्पको टोकाइबाट तीनजनाको मृत्यु भइसकेको छ । प्रहरी र सञ्चारमाध्यममा आएको यो तथ्यांक भएपनि सर्पको टोकाइबाट मृत्यु हुनेको संख्या यो भन्दा बढी हुन सक्ने अनुमान गरिएको छ । 

Atrya hospital

मृत्यु भएका तिनै जनाको अस्पताल नपुर्याइकनै मृत्यु भएको देखिएको छ । बैतडीको महाकाली किनार क्षेत्रमा सर्पको टोकाइबाट मृत्यु हुनेको संख्या बढी देखिएको छ । 

पञ्चेश्वर गाउँपालिकामा मात्रै गएको ४ महिनामा सर्पको टोकाइबाट दुईजनाको मृत्यु भइसकेको छ । गएको वैशाखमा पञ्चेश्वर २ की २५ बर्षीया निर्मला लुहारको सर्पको टोकाइबाट मृत्यु भएको थियो । वैद्यले झारफुक गर्दागर्दै उनको मृत्यु भएको थियो । 

मंगलबारमात्रै पञ्चेश्वर ४ की १६ बर्षीया अनिता चन्दको मृत्यु भएको छ । सर्पले टोकेपछि उनले पनि उपचार नपाइकनै मृत्युवरण गरिन् । 

गएको जेठमा सिगास ७ का ५५ बर्र्षीय करी दमाइको पनि सर्पको टोकाइबाट मृत्यु भएको थियो । उनले पनि उपचार नपाउँदा ज्यान गुमाएका थिए । 

पछिल्लो समयमा जिल्ला अस्पतालमा सर्पदंशका बिरामीहरुको उपचारको व्यवस्था रहेको भएपनि सर्पले टोकेकाहरुलाई अस्पताल पुर्याउने चलन रहेको छैन् । सर्पले टोकीहालेमा जतिसक्दो चाँडो अस्पातलमा पुर्याउनुपर्ने भएपनि वैद्यको भरपर्दा सर्पदंशका बिरामीहरुले अकालमै ज्यान गुमाउनुपरीरहेको जिल्ला अस्पतालका प्रमुख डा. श्रेष्ठले बताए । 

जिल्ला अस्पताल बैतडीमा सर्पले टोकेका बिरामीहरुको उपचारका लागि एन्टीस्नेक भेनम र भेन्टीलेटरको सुविधा रहेको छ । यसका साथै तालिमप्राप्त दक्ष जनशक्ति समेत रहेको छ । तर सर्पले टोकेका बिरामीहरुलाई अस्पतालमा पुर्याउने चलन छैन् । झारफुककै भरपर्दा सर्पदंशका बिरामीहरुले अकालमै ज्यान गुमाउनुपर्ने अवस्था रहेको डा. श्रेष्ठले बताए । जिल्ला अस्पतालमा अहिले सम्म सर्पदंशका एकजना बिरामीको उपचार गरिएको छ । 

बैतडीको हकमा जिल्ला अस्पताल बैतडी र नजिकको डडेल्धुरा अस्पतालमा सर्पदंशका बिरामीको उपचार हुने भएकाले सर्पले टोकीहालेमा जतिसक्दो चाँडो अस्पताल पुर्याउन डा. श्रेष्ठले सुझाव दिए । सर्पदंशका बिरामीलाई समयमै अस्पताल पुर्याउन सके उनीहरुको ज्यान जोगाउन सकिने उनले बताए । 

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  ०७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update