Sagun Khabar
भारतले आउँदो बिहीवार तेस्रो पटक धौलीगङ्गाको बाँध खोल्दै, सतर्क रहन आग्रह 

दार्चुला – भारतले उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका तेस्रो पटक खोल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले आज आइतवार एक सूचना निकालेर आउँदो बिहीवार बिहान ५ देखि बेलुकी ८ बजेसम्म धौलीगङ्गाको बाँधका ढोका खुल्ने जनाएको हो ।

भारतीय प्रशासनले सिल्ट सरसफाइ गर्ने भन्दै नेपाली प्रशासनलाई जानकारी दिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीले जानकारी दिए । बाँधका ढोका खुल्दा महाकाली नदीमा पानी बहाव बढ्ने भन्दै प्रशासनले नदी किनार बस्तीका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

व्यास गाउँपालिका–५ धौलाकोटदेखि लेकम गाउँपालिका–३ लालीसम्मका नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाएर सुरक्षित ठाउँमा बस्न प्रशासनले भनेको छ ।

यस्तै बैतडीको दशरथचन्द नगरपालिका ६ सेरादेखि पञ्चेश्वर सम्मका नदी तटीय क्षेत्रका बासिन्दाहरुलाई सुरक्षित रहन आग्रह गरिएको छ । 

भारतले बर्खाको समयमा बेला बेला बाँधका ढोका खोल्दै आएको छ । भारतले गएको असार २६ गते पहिलो पटक बाँधका ढोका खोलेको थियो भने पुनः साउन ६ गते दोस्रो पटक बाँधका ढोका खोलेको थियो । साउन ६ गते दोस्रो पटक खोलेको बाँधले दार्चुलाको पारिपट्टि भारतीय क्षेत्र धार्चुलामा एक घर बाढीले बगाएको थियो ।

यसअघि २०७० सालमा भारतले नेपालतिर कुनै जानकारी नदिई बाँधका ढोका खोल्दा नेपालतिर क्षति भएको थियो । पछिल्ला वर्षहरूमा भारतले परियोजनाका ढोका खोल्दा नेपालतिर पूर्वजानकारी दिने गरेको छ । 

नेपालका स्थानीय प्रशासनहरुलाई पूर्व जानकारी दिएर भारतले बाँध खोल्दै आएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी शंकरबहादुर बोहराले बताए । 
 

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update