Sagun Khabar
दार्चुलामा जंगली बँदेलद्वारा स्याउ समेत सखाप 

दार्चुला –दार्चुलाको नौगाडमा जंगली बँदेलले स्याउ खान थालेपछि किसानहरु चिन्तित भएका छन् । नौगाड गाउँपालिका–१ मानाकोट र जात्रामा उत्पादन भएको स्याउ जंगली बँदेलले सखाप पारेको व्यावसायिक किसान धनसिंह डडालले बताए ।

दार्चुलाको नौगाड गाउँपालिका–१ मा रेड डेलिसियस, गाला, फुजी लगायत विभिन्न जातका स्याउ उत्पादन भइरहेका छन् । किसानहरुले व्यक्तिगत र सामुहिकरुपमा स्याउ खेती गरिरहेका भएपनि जंगली बँदेलले नोक्सान गरेको अर्का किसान उजलसिंह डडालले बताए । बारीमा फलेको करीब ८० प्रतिशत स्याउ जंगली बँदेलले नोक्सान गरेको उनले बताए ।

स्वास्थ्य सन्देश
Atrya hospital

रातभरी पहरा दिँदा समेत बारीको स्याउ बचाउन नसकिएको किसानहरुले बताएका छन् । जंगली बँदेलले स्याउ नोक्सान गर्न थालेपछि बचेको स्याउ काँचै टिप्नुपर्ने बाध्यता रहेको डडालले बताए । 

नौगाड–१ स्थित मानाकोट र जात्रामा मात्रै यो सिजनमा १५ क्विन्टल बढी स्याउ उत्पादन हुने अनुमान गरिएको भएपनि जंगली बँदेलले नष्ट गरेपछि अब उत्पादन घट्ने देखिएको छ । बँदेलले स्याउ नष्ट गरेपछि अहिले कृषि ज्ञान केन्द्र दार्चुला र पालिकाले क्षतिको बिवरण संकलन गरिरहेको बताइएको छ । 

दार्चुलाको अपि हिमाल, व्याँस, नौगाड गाउँपालिकामा स्याउ उत्पादन राम्रो भइरहेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ जोन दार्चुलाका अनुसार जिल्लाभरी अढाइसय हेक्टर बढी क्षेत्रफलमा स्याउ खेती भइरहेको छ । गाउँसम्म यातायातको पहुँच नहुँदा बजार र ढुवानीको समस्या झेल्नुपरेको कृषकहरुको गुनासो छ । 

दार्चुलाको मौसम सुहाउँदो इटाली, गाला, फुजी, रोयल, डेलिसियस, गोल्डन डेलिसियस लगायत विभिन्न जातका स्याउको उत्पादन हुने गरेको छ ।
 

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १०:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update