Sagun Khabar
वैद्यको भरपर्दा ज्यान गुमाउँछन् सर्पदंशका बिरामी 

बैतडी –सर्पले टोकेमा वैद्यकहाँ झारफुक गर्न जाने प्रचलनले सर्पदंशका बिरामीहरुले अकालमै ज्यान गुमाउने क्रम बढ्दै गएको छ । सर्पले टोकेमा वैद्यकहाँ गएर झारफुक गर्ने प्रचलन बैतडीका अधिकांश ठाउँमा रहेको छ । 

यो बर्षमात्रै सर्पको टोकाइबाट बैतडीमा चार जनाको ज्यान गइसकेको छ । सर्पले टोकेपछि वैद्यले झारफुक गर्दागर्दै उनीहरुको ज्यान गएको हो । सर्पले टोकेमा अस्पताल लैजानुपर्छ भन्ने चेतनाको अभावका कारण सर्पदंशका बिरामीहरुले अकालमै ज्यान गुमाउने गरेका पञ्चेश्वर स्वास्थ्यचौकीका इन्चार्ज सुरेश सार्कीले बताए । 

वैद्यकै भरपर्दा सर्पदंशका बिरामीहरुले अकालमै ज्यान गुमाइरहेका छन् । पञ्चेश्वरमा मात्रै यो बर्ष सर्पको टोकाइबाट तीन जनाको ज्यान गइसकेको छ । सर्पले टोकेका तिनै जनालाई अस्पताल नपुर्याउँदा उनीहरुको मृत्यु भएको हो । 

मंगलबार राति मात्रै पञ्चेश्वर गाउँपालिका १ सेरीकी ५५ बर्षीया पार्वती घटालको सर्पको टोकाइबाट मृत्यु भएको छ । खाने पकाउने क्रममा साढेसात बजे उनलाई सर्पले टोेकेकोमा राति १ बजे उनको निधन भयो । यो बीचमा उनलाई वैद्यले झारफुक गरेका थिए । 

जिल्ला अस्पतालमा सर्पदंशका बिरामीहरुको उपचार हुने भएपनि उनलाई अस्पताल पुर्याउने प्रयास समेत भएन् । सर्पले टोकेको करीब ६ घण्टापछि मात्रै पार्वतीको मृत्यु भएको थियो । त्यतिबेला सम्म अस्पताल पुर्याउन सकेको भएपनि ज्यान जोगिने सम्भावना रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । 

यस्तै गएको साउन २३ गते पञ्चेश्वर गाउँपालिका ४ फ्याउलीकी १६ बर्षीया अनिता चन्दको पनि सर्पको टोकाइबाट ज्यान गएको थियो । वैद्यले झारफुक गर्दागर्दै उनको पनि ज्यान गएको हो । 

यस्तै गएको वैशाख १६ गते पञ्चेश्वर गाउँपालिका २ की २५ बर्षीया निर्मला लुहारको पनि सर्पको टोकाइबाट ज्यान गएको थियो । वैद्यले झारफुक गर्दागर्दै उनको पनि मृत्यु भएको थियो । 

सर्पले टोकीहालेमा जतिसक्दो चाँडो अस्पताल पुर्याउन सक्यो त्यति बिरामीलाई सहज हुने भएपनि ग्रामीण क्षेत्रमा अझै वैद्यको भर पर्ने प्रचलन रहेको छ । यसले गर्दा सर्पदंशका बिरामीहरुले अकालमै ज्यान गुमाउने गरेका छन् । सर्पले टोकेमा स्वास्थ्यकर्मीलाई खबरै नगर्ने प्रचलन रहेको पञ्चेश्वर स्वास्थ्यचौकीका इन्चार्ज सार्कीले बताए । उनले भने ‘सर्पले टोकेको बिषयमा स्वास्थ्यकर्मीहरुलाई कसैले जानकारी नै गराउँदैनन् । मान्छेको मृत्यु भएपछि मात्रै थाहा पाइन्छ ।’

सर्पले टोकिहालेमा जतिसक्दो चाँडो अस्पताल पुर्याउनुपर्ने भएपनि त्यसो नहुँदा सर्पको टोकाइबाट मृत्यु हुनेको संख्या बढ्दै गएको जिल्ला अस्पताल बैतडीका निमित्त प्रमुख डा. धिरज जैसवालले बताए । 

जिल्ला अस्पताल बैतडीमा सर्पले टोकेका बिरामीहरुको उपचारका लागि एन्टीस्नेक भेनम र भेन्टीलेटरको सुविधा रहेको छ । यसका साथै तालिमप्राप्त दक्ष जनशक्ति समेत रहेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  ०७:५४
प्रतिक्रिया दिनुहोस्