बैतडी–विद्यालय गएका बैतडीका एक शिक्षक १३ दिनदेखि बेपत्ता छन् । जिल्लाको डिलाशैनी गाउँपालिका–२ गोगनी घर भएका ५२ वर्षीय शिक्षक जयबहादुर बोहरा भदौ ५ गतेदेखि बेपत्ता भएका हुन् ।
स्थानीय लटीनाथ आधारभूत विद्यालय अमरखेतमा कार्यरत शिक्षक बोहरा भदौ ५ गतेदेखि बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए ।
भदौ ५ गते विद्यालय गएका बोहरा घर नफर्केका र लगाएको चप्पल स्थानीय गन्नीगाडमा नजिकै फेला परेको छ । खोला नजिकै चप्पल फेला परेकाले गन्नीगाड मिसिएको चमेलिया नदी किनारका साथै महाकाली नदी किनारमा समेत खोजी भइरहेको प्रहरी निरीक्षक केसीले बताए ।
‘बेपत्ता शिक्षकको अवस्था अज्ञात छ, खोजीका लागि प्रहरी परिचालन भएको छ, पत्ता लाग्न सकेको छैन,’ प्रहरी निरीक्षक केसीले भने ।




