Sagun Khabar
बिरुडाको जोहो गर्नै मुस्किल 

बैतडी –भदौ ७ गते गौरा नमनाएका ठाउँमा सोमबारदेखि गौरा पर्व शुरु हुँदैछ । गौरा पर्वमा गौरादेवीको मुख्य प्रसादको रुपमा बिरुडालाई लिने गरिन्छ । बिरुडापञ्चमीका दिन बिरुडा भिजाएर गौरा पर्वको शुरुवात गर्ने गरिन्छ । 

पछिल्लो समयमा बिरुडाको रुपमा भिजाइने पाँच प्रकारका अन्नको जोहो गर्न मुस्किल हुने गरेको ब्रतालु महिलाहरुले बताएका छन् । भाद्र ७ गते गौरा मनाएका ब्रतालुहरुलाई समेत बिरुडाको जोहो गर्न मुस्किल भएको थियो । 

भाद्र शुक्ल वा कृष्ण पक्षमा गौरा मनाउने परम्परा रही आएको पक्षमा तर्क गर्ने ज्योतिषहरुका अनुसार भोलिदेखि गौरा पर्व शुरुवात गरिँदैछ । यो बर्ष भाद्र कृष्ण पक्षमा गौरा परेकाले भोलि पञ्चमीका दिन बिरुडा भिजाउने तयारी छ । 

पञ्चमीका दिनमा गहत, गुराउँस, गहुँ, मास र केराउलाई मिसाएर बिरुडाको रुपमा भिजाउने चलन रही आएको छ । तर पछिल्लो समयमा गहत, गुराउँस र केराउ पाउन मुस्किल भएको दार्चुलाको शैल्यशिखरकी सीता रावलले बताइन् । उनले भनिन् ‘बिरुडाका लागि आवश्यक पर्ने दालहरु पाउन मुस्किल भएको छ । गहत, गुराउँस र केराउको खेती नै छोडीसकिएको छ । यसले बिरुडाका लागि आवश्यक पर्ने गहत, गुराउँस र केराउ पाउन मुस्किल भएको छ ।’

गौराको समयमा बिरुडा बनाउन आवश्यक पर्ने दलहनको जोहो गर्न मुस्किल भएको सुर्नया ६ की हरिना अवस्थीले बताइन् । पहिला पहिला गहत, गुराउँस र केराउको खेती गर्ने चलन रही आएको भएपनि पछिल्लो यसको खेती गर्न छोडिएको छ । त्यसले गर्दा गाउँघरमै बिरुडाको जोहो गर्न मुस्किल भएको छ । 

ग्रामीण क्षेत्रमै बिरुडाको जोहो गर्न मुस्किल भएका बेला शहर बजार नजिकका गाउँहरुमा बजारबाटै किनेर बिरुडा बनाउनुपर्ने बाध्यता रही आएको छ । बिरुडाका लागि आवश्यक पर्ने चीजहरु बजारबाटै किन्नुपर्ने बाध्यता रहेको पाटन नगरपालिका ६ की डम्मरी भट्टले बताइन् । 

पञ्चमीका दिन भिजाएका बिरुडालाई षष्ठीका दिन नजिकका धारा, तलाउमा लगेर धुने चलन रही आएको छ । बिरुडाले नै गौरादेवीको पूजाआजा गर्ने गरिन्छ भने आफन्तजनहरुको टाउको समेत बिरुडाले पुज्ने गरिएको छ । 

गौरादेवीको मुख्य प्रसादको रुपमा रहेको बिरुडाको जोहो गर्न मुस्किल हुने गरेको ब्रतालु महिलाहरुले बताएका छन् । 
 

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  ०९:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update