
बैतडी –बैतडीमा लैङ्गिक हिंसा रोकथामका बिषयमा सहकारी संस्थाका सदस्यहरुसंग शनिबार छलफल गरिएको छ ।
जिल्लाको दशरथचन्द नगरपालिका १ गुरुखोलास्थित शिखर बीउ प्रवद्र्धन सहकारी संस्था र महारुद्र बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारीहरुसंग छलफल गरिएको हो ।
संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए) र भिएसओको सहयोगमा पिसवीनले सञ्चालन गरिरहेको लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना अन्तर्गत सहकारी संस्थाका सदस्यहरुसंग छलफल गरिएको हो ।
लैंगिक हिंसा न्यूनीकरणमा सहकारी संस्थाका सदस्यहरुको समेत महत्वपूर्ण भूमिका हुने भएकाले उनीहरुसंग एकदिने छलफल गरिएको पिसवीनका फिल्ड सहजकर्ता लोकेश भट्टले जानकारी दिए ।
सहकारी संस्थाका सदस्यहरुसंग लैंगिक हिंसा रोकथामका बिषयमा भएको छलफलले ग्रामीण क्षेत्रमा हुने विभिन्न खालका हिंसा रोकथाममा सहयोग पुर्याउने महारुद्र बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विष्णुदत्त भट्टले बताए । उनले भने ‘ग्रामीण क्षेत्रमा अहिले पनि विभिन्न कारण हिंसाका घटनाहरु हुने गरेका छन् । यस्ता कार्यक्रमहरुले हिंसा न्यूनीकरणमा सहयोग पुग्छ ।’
लैंगिक हिंसा रोकथामका लागि सहकारी संस्थाका सदस्यहरुसंग गरिएको छलफल प्रभावकारी भएको शिखर बीउ प्रवद्र्धन सहकारी संस्थाका अध्यक्ष देवदत्त भट्टले बताए ।
परियोजना अन्तर्गत लैंगिक हिंसा रोकथामका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन भइरहेका परियोजनाका पीसवीनका कार्यक्रम संयोजक माधव भट्टले बताए ।