बैतडी-बैतडीको सुर्नया गाउँपालिका ६ मुलखटालीस्थित श्री शंकर संस्कृत माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरूले आफ्ना लागि छुट्ट्याइएको खाजा र पकेट खर्च कटौती गरी रसुवाका बाढीप्रभावितहरूका लागि १३ हजार ६५ रुपैयाँ सहयोग रकम संकलन गरेका छन् ।
रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण आफ्नो घरबार, आफन्त र धनजन गुमाएका पीडित परिवारहरूको घाउमा मलम लगाउन शंकर संस्कृत मा वि का विद्यार्थीहरूले मानवीयताको उदाहरण प्रस्तुत गरेका हुन् ।
विपद् र संकटको घडीमा भौगोलिक दूरीले टाढा भए पनि पीडामा परेका दाजुभाइ तथा दिदीबहिनीप्रतिको सहानुभूति र भ्रातृत्वको भावना दर्शाउँदै साना बालबालिकाहरूले स्वस्फूर्त रूपमा आफूले सकेको रकम सहयोग संकलन गरेका हुन् ।
विद्यालयका शिक्षक दिलबहादुर कुँवरका अनुसार बालबालिका तथा किशोर किशोरीहरूबाट संकलन गरिएको उक्त सहयोग रकम विपद्मा परेका वास्तविक पीडितहरूसम्म पुगोस् भन्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (प्रधानमन्त्री राहत कोष) मा हस्तान्तरण गरिएको छ ।




