
बैतडी –बैतडीमा अगुवा कृषकहरुका लागि तीन दिने तालिम सम्पन्न भएको छ । सुख्खा फलफूल विकास केन्द्र सतबाँझले आयोजना गरेको तालिम आज सम्पन्न भएको हो । तालिममा निजी नर्सरीका सञ्चालक, अगुवा कृषक र प्रयोगात्मक सीप सिकिरहेका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
किसानहरुलाई फलफूलको बगैंचा स्थापना गर्नका लागि सहयोग होस भनेर तालिमको आयोजना गरिएको सुख्खा फलफूल विकास केन्द्र सतबाँझका प्राविधिक सहायक अर्जुन खड्काले जानकारी दिए ।
तालिममा किसानहरुलाई बोटविरुवा लगाउने तरीकाका साथै कलमी गर्ने, गोडमेल गर्ने, मलको प्रयोग गर्ने लगायतका बिषयमा जानकारी दिइएको उनले बताए ।
तालिमले निजी नर्सरीमा लागिरहेका किसानहरुलाई फाइदा पुगेको श्रीकेदार बलैराज निजी नर्सरीकी सञ्चालक जानकी चन्दले बताइन् । आफू गएको ४० बर्षदेखि फलफूलको निजी नर्सरीमा लागेको र यस्ता तालिमले सहज हुने गरेको उनले बताइन् । उनले भनिन् ‘हामीले यो तालिमबाट धेरै कुरा सिकेका छौं । तालिमले हामीलाई नर्सरी दैनिक गर्नुपर्ने कामहरुको बारेमा जानकारी भएको छ ।’
तालिमले आफूहरुलाई फलफूलका बिरुवाको नर्सरीलाई राम्रो बनाउन सहज हुने अगुवा किसान परमानन्द भट्टले बताए । बेलाबेलामा हुने यस्ता तालिमले सहयोग पुगेको उनले बताए ।
बैतडीमा सूचीमा दर्ता भएका ३० ओटा फलफूलका निजी नर्सरी रहेका छन् । ती नर्सरीहरुमा बर्खे र हिउँदे फलफूलका बिरुवा उत्पादन गर्ने गरिएको छ । नर्सरीमा बिरुवा उत्पादन गरिरहेका किसानहरुलाई प्राविधिक सीप दिने उद्देश्यले तालिमको आयोजना गरिएको प्राविधिक सहायक खड्काले बताए । यस्तो खालको तालिम हरेक बर्ष सञ्चालन गर्ने गरिएको उनले बताए ।