Sagun Khabar
हराउँदै मौलिक ‘भैलो’

बैतडी –तिहारको समयमा बैतडीसहित सुदूरपश्चिमका विभिन्न जिल्लामा खेलिने मौलिक ‘भैलो’हराउँदै गएको छ । तिहारको पाँचदिन धुमधामसंग भैलो खेल्ने चलन रहेको भएपनि पछिल्लो समयमा मौलिक भैलो हराउँदै गएको स्थानीय संस्कृतिका जानकार गणेशदत्त अवस्थीले बताए । 

तिहारलाई स्थानीय भाषामा ‘दुत्तया’भन्ने चलन रहेको र दुत्याको भैलो खेल्ने चलन रहेको छ । तर पछिल्लो समयमा भैलो खेल्ने चलन हराउँदै गएको उनले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

स्थानीय भाषामै गाइने भैलो अहिले लगभग लोप भइसकेको दोगडाकेदारका स्थानीय इन्द्रदेवशरण भट्टले बताए । पछिल्लो समयमा डिजेबाटै बजाएर देउसी भैलो खेल्न चलन आइसकेको उनले बताए । मौलिक शब्द र भाषाको भैलो सुनिन छोडेको उनले बताए । 

पहिला पहिला लक्ष्मी पूजापछि घरघरमा गएर भैलो खेल्ने चलन रही आएको थियो । अहिले पनि देउसी भैलो खेल्ने गरिएको छ तर त्यसमा मौलिक भैलो भने गाउन छोडेको भट्टको भनाइ छ । 

धेरैलाई बैतडीमा गाइने मौलिक भैलोको बिषयमा जानकारी समेत नभएको स्थानीय संस्कृतिका जानकार शिवराज भट्टले बताए । देउसी भैलो खेलेपनि अहिले युट्युबाट बजाएर भैलो खेल्न गरिएको उनले सुनाए । उनले भने ‘पछिल्लो समयमा यो क्षेत्रमा खेलिने मौलिक भैलो लोप हुन थालेको छ । यो बिषयमा कसैको चासो समेत छैन् ।’

तिहारमा खेलिने भैलो यो क्षेत्रमा तिहारमा मात्रै सीमित नभएर कार्तिक शुक्ल पक्षभरी शक्तिपीठ तथा मन्दिरहरुमा लाग्ने जात्राहरुमा समेत खेल्न गरिन्छ । धेरैजसो शक्तिपीठ तथा मन्दिरहरुमा कार्तिक शुक्ल पक्षमा लाग्ने जात्राहरुमा भैलो खेल्ने चलन रही आएको छ । देवीदेवताका जात्राहरुमा भैलो खेलेर देवीदेवताको पूजाआजा गर्ने चलन समेत रही आएको छ । 

मौलिक संस्कृतिका हरेक पक्ष लोप हुँदै गएकाले यसको संरक्षणका लागि युवा पुस्ताको ध्यान जानुपर्नेमा स्थानीय संस्कृतिका जानकार हेमबाबु लेखकले बताए । संस्कृति मानव जीवनको मार्गदर्शन भएकाले सांस्कृतिक पक्षहरुको संरक्षणमा युवा पुस्ता लाग्नुपर्नेमा उनले जोड दिए । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  ०९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update