बैतडी - प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको मन्त्रीपरिषद् विस्तार भएको छ ।
नवनियुक्त चार जना नयाँ मन्त्रीले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो । थपिएका नयाँ मन्त्रीहरुमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नाम रहनुभएको छ ।
श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, चौलागाईंलाई वन तथा वातावरण, भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र इङ्नामलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायतका विशिष्ट व्यक्तिको उपस्थिति रहेको थियो ।




