Sagun Khabar
बैतडीका महिला व्यवसायिक बेसार खेती गर्दै 

बैतडी –बैतडीका महिला व्यावसायिक रूपमा बेसारखेती गर्न थालेका छन्। विगतमा घरयासी प्रयोजनका लागि मात्रै बेसारखेती गर्दै आएका यहाँका महिला अहिले व्यावसायिक रूपमा बेसारखेती गर्न थालेका हुन् । 

अन्य खाद्यबालीमा जंगली जनावरहरुले क्षति पुर्याउन थालेपछि बेसार खेती गर्न थालेको पाटन–६ की कलशा लुहारले बताइन् । उनले भनिन् ‘बाँदरले अन्य बालीमा क्षति पु¥याउन थाल्यो । बाँझो जमिनको सदुपयोग गर्दै व्यवसायिक रुपमा बेसार खेती गर्न थालेका छौं ।’

जिल्लाको पाटन नगरपालिका, सुर्नया गाउँपालिका र सिगास गाउँपालिकाका महिला उद्यमी समूहमा आवद्ध ४४ जना महिलाहरुले व्यवसायिक रुपमा बेसार खेती गरिरहेका छन् । 

पहिला घरका लागि मात्रै बेसार उत्पादन गर्दै आएकोमा पछिल्लो समयमा व्यवसायिक रुपमा बेसार खेती गरिरहेको सुर्नया –६ की पवित्रा शाह चन्दले बताइन् । ‘सारथी नेपाल’ले ‘दिगो आम्दानीमार्फत महिला उद्यमीको सशक्तीकरण’ परियोजनाअन्तर्गत बिउ र प्राविधिक सहयोग गरेपछि बेसारसँगै लसुनखेती समेत गरिरहेको उनले जानकारी दिइन् । 

सारथी नेपालले पाटन नगरपालिका–६, ८ र ९, सिगास गाउँपालिका–१ र २ तथा सुर्नया गाउँपालिका–६ मा उक्त परियोजना सञ्चालन गरेको छ । परियोजनामार्फत महिला उद्यमी समूहमा आवद्ध महिला किसानलाई बिउ र प्राविधिक सहयोग गर्दै आएको परियोजनाका फिल्ड सुपरभाइजर दिपेश धामीले बताए । बाँझो जमीनको सदुपयोग गरी महिलालाई व्यवसायसँग जोडेर आत्मनिर्भर बनाउन सारथी नेपालले बिउबिजन तथा अन्य सहयोग गर्दै आएको छ । परियोजनाअन्तर्गत महिलाले बेसारसँगै अदुवा, लसुन र टनेलभित्र गोलभेँडाखेती समेत गरिरहेका कार्यक्रम संयोजक भुपाल बोहराले बताए । 

व्यवसायिक बेसार खेती गरिरहेका महिलाहरुको खेतबाट साढे तीन सय क्विन्टल बेसार उत्पादन हुने अपेक्षा गरिएको कार्यक्रम संयोजक बोहराले बताए । व्यवसायिक खेतीमा लागेका महिलाहरुलाई बेला–बेलामा संस्थाका तर्फबाट प्राविधिक सहयोग समेत गर्दै आएको बोहराले बताए । 

रोगकीरा चुनौती 

व्यवसायिक बेसार र लसुन खेती गरिरहेका महिला किसानहरुलाई रोगकीराले चुनौती दिएको छ । बेसार र लसुन खेतीमा समेत रोगकीराको प्रकोप देखिएपछि आफूहरु समस्यामा परेको सिगास–२ परुली धामीले बताइन् । 
बारीमा लगाएको लसुन र बेसार खेतीमा खुम्रे कीराको प्रकोप देखिएको सुर्नया गाउँपालिका–६ मुसेकी पवित्रा शाहीको भनाइ छ  । रोगकीराका कारण लसुन र बेसार खेतीमा क्षति पुगेको उनले सुनाइन् । उनले भनिन् ‘पहिला –पहिला लसुन र बेसारमा रोगकीरा लाग्दैनथ्यो । तर अचेल यी बालीमा समेत रोगकीराको प्रकोप देखिन थालेको छ ।’

लसुन र बेसार खेती गरिरहेका अधिकांश किसानहरुले रोगकीराको सामना गरिरहेका सारथी नेपालकी फिल्ड सुपरभाइजर मानमती भट्टले बताइन् । रोगकीराको एकीन कारण नभएपनि काँचो गोबरमलको प्रयोगबाट कीरा लागेको हुन सक्ने अनुमान गरिएको उनले बताइन् । 

लसुन र बेसार खेतीमा लागेको खुम्रे कीराको बिषयमा कृषि प्राविधिकहरुसँग छलफल भइरहेको भट्टले बताइन् । लसुन र बेसारमा बिरलै रुपमा रोगकीरा लाग्ने भएपनि यो बर्ष भने धेरै किसानहरु रोगकीराले हैरान भएका उनले बताइन् ।
 

प्रकाशित मिति: शुक्रबार, पुस ४, २०८२  १७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update