Sagun Khabar
बैतडीमा बिडिसिए कप मंसिर १६ गतेदेखि, वान डे फर्म्याटमा खेलाइने 
फाइल फोटो

बैतडी –बैतडी जिल्ला क्रिकेट संघले आयोजना गर्दै आएको बिडिसिए कप क्रिकेट प्रतियोगिता यही मंसिर १६ गतेबाट शुरु हुने भएको छ । यो बर्ष बिडिसिए कप वान डे फम्र्याटमा खेलाइने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले बताए । 

विगत बर्षहरुमा टी–२० फम्र्याटमा सञ्चालन हुँदै आएको प्रतियोगिता यो बर्ष ५० ओभरमा खेलाइन लागेको उनले बताए । प्रतियोगितामा संघमा आवद्ध १४ क्लबको सहभागिता रहने अध्यक्ष चन्दले बताए । 

बिडिसिए कपका सबै खेल दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा सञ्चालन हुने क्रिकेट प्रशिक्षक दिपेन्द्र बोहराले बताए । 

प्रतियोगितामा नागार्जुन क्रिकेट क्लब, कालशैनी क्रिकेट क्लब, त्रिपुरा क्रिकेट क्लब, ग्वाल्लेक क्रिकेट क्लब, दशरथचन्द स्मृति प्रतिष्ठान, एनआरवाईसी बठ्ठा, पंचकोटी क्रिकेट क्लब, निङ्गलासैनी क्रिकेट क्लब, नवजागृति क्रिकेट क्लब, महामाया क्रिकेट क्लब, यौंगस्टार क्रिकेट क्लब, महारुद्र क्रिकेट क्लब, वासुलिङ्ग क्रिकेट क्लब र पाटन क्रिकेट क्लबले सहभागिता जनाउने अध्यक्ष चन्दले बताए । 

संघमा आवद्ध सबै क्रिकेट क्लबहरुलाई अनिवार्य नवीकरण गर्नुका साथै जिल्ला प्रशासन कार्यालयमा समेत दर्ता गराउन भनिएको छ । 

प्रतियोगितामा १६ बर्ष मुनिका खेलाडीहरुलाई समावेश गर्न दिइने छैन् भने एक टीममा २३ बर्षमाथिका बढीमा ४ जनाले खेलाडीले मात्रै सहभागिता जनाउन पाउनेछन् । 

प्रतियोगिताको विजेतालाई ५० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेतालाई ३५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, मंसिर २, २०८०  १०:५३
प्रतिक्रिया दिनुहोस्