Sagun Khabar
सुदूरपश्चिमका पर्यटन मन्त्री धामीद्वारा पाताल भुवनेश्वर क्षेत्रको अवलोकन 

बैतडी –सुदूरपश्चिम प्रदेशका उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री रमेशसिंह धामीले बैतडीमा रहेको प्रसिद्ध पाताल भुवनेश्वर धार्मिक क्षेत्रको अवलोकन गरेका छन् । शनिबार बिहान मन्त्री धामीले पाताल भुवनेश्वर क्षेत्रमा पुगेर अवलोकन गरेका हुन् । 

शुक्रबार दार्चुलाको जोलजिवी व्यापार मेला उद्दघाटन कार्यक्रममा सहभागी भएका मन्त्री धामी धनगढी फर्कने क्रममा शनिबार बिहान पाताल भुवनेश्वर धाममा पुगेका हुन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

सुर्नया गाउँपालिका २ र पाटन नगरपालिका ४ स्थित पाताल भुवनेश्वर धार्मिक क्षेत्रको अवलोकन गर्दै मन्त्री धामीले यो क्षेत्रको विकासका लागि आफूले मन्त्रालयकातर्फबाट पहल गर्ने बताए । 

पाताल भुवनेश्वर क्षेत्रमा रहेको कहिले नसुक्ने प्राकृतिक ताल र प्राकृतिक गुफाको प्रचारप्रसार, संरक्षण– सम्वद्र्धन र विकासका लागि प्रदेश सरकारले पहल गर्ने उनले बताए । उनले भने ‘मैले मन्त्रालयको कार्यभार सम्हालीसकेपछि प्रदेशभित्र रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको अवलोकन गरिरहेको छु । यस्ता क्षेत्रहरुको विकासका लागि गर्न सकिने सबै प्रयास मैले गर्छु ।’

मन्त्री धामीसंगै पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहरा लगायत अन्य सरोकारवालाहरु पाताल भुवनेश्वर धाम क्षेत्रमा पुगेका थिए । 

पाताल भुवनेश्वर धाम अग्लो डाँडोमा अवस्थित भएपनि धाममा कहिले नसुक्ने प्राकृतिक ताल रहेको छ । पाताल भुवनेश्वरको धामको बारेमा स्कन्द पुराणको हिमवत खण्डमा समेत उल्लेख गरिएको पाइन्छ । भगवान विष्णुले राजा बलिलाई पाताल पठाएको र सोही बेलादेखि पातालभुवनेश्वरनाम रहेको बताईएको छ । यस्तै अर्को प्रसंगमा भगवान शिवले सतीको पार्थिव शरीरलाई बोकेर पृथ्वी घुम्ने क्रममा सतीदेवीको पैताला खसेर पाताल भुवनेश्वर शिवशक्तिको रुपमा स्थापित भएको किम्वदन्ती छ ।

यस्तै पाताल भुवनेश्वर क्षेत्रमा दक्षिण एसीयाकै लामो गुफा रहेको बताइन्छ । यसको चारैतिर अन्य गुफाहरु पनि रहेका छन् । 

पाताल भुवनेश्वर धाम महाशिवरात्रीको अवसरमा ठूलो मेला लाग्ने गर्दछ भने श्रावणको महिना पनि भक्तजनहरु दर्शनका लागि पुग्ने गरेका छन् । 
 

प्रकाशित मिति: शनिबार, मंसिर २, २०८०  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update