Sagun Khabar
बैतडीका तीन पालिकामा आज सार्वजनिक बिदा, दशरथचन्दमा भोलि सार्वजनिक बिदा 

बैतडी–बैतडीका तीनओटा पालिकामा आज सार्वजनिक बिदा दिइएको छ । जिल्लाको पाटन नगरपालिका, शिवनाथ गाउँपालिका र डिलाशैनी गाउँपालिकामा आज सार्वजनिक बिदा दिइएको सम्बन्धित स्थानीय तहहरुले जनाएका छन् । 

पाटन नगरपालिका –२ स्थित प्रसिद्ध महारुद्र धाममा लागेको जात्राको अवसरमा सार्वजनिक बिदा दिइएको पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले बताए । आज नगरपालिका क्षेत्रभित्रका सबै सरकारी तथा गैरसरकारी निकाय, शिक्षण संस्था लगायतमा बिदा रहने उनले बताए । 

महारुद्र जात्रामा स्थानीयहरुको सहभागिता रहने र यो क्षेत्रको मुख्य धार्मिकस्थल भएकाले बिदा दिइएको उनले बताए । 

यस्तै शिवनाथ गाउँपालिकामा पनि आज सार्वजनिक बिदा दिइएको छ । गाउँपालिकाले प्रसिद्ध शिवनाथ धामको जात्राको अवसरमा हिजो र आज दुई दिन सार्वजनिक बिदा दिएको हो । शिवनाथ जात्रामा स्थानीयहरुको उल्लासमय सहभागिता रहने भएकाले पालिकाले दुई दिन सार्वजनिक बिदा दिएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए ।

शिवनाथ धामको जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत पुगेका छन् । यो जात्रामा हजारौं दर्शनार्थीहरुको सहभागिता रहने गर्दछ । 

यस्तै जिल्लाको डिलाशैनी गाउँपालिकाले पनि आज सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाको वडा नं ५ स्थित प्रसिद्ध कफलाशैनी भगवती मन्दिरमा लाग्ने जात्राको अवसरमा बिदा दिएको गाउँपालिका प्रवक्ता यज्ञराज भट्टले बताए । 

कफलाशैनी जात्राको अवसरमा स्थानीयहरुको उल्लासमय सहभागिता रहने र यो क्षेत्रको मुख्य शक्तिपीठ भएकाले जात्राको अवसरमा आज पालिकाकारीका सम्पूर्ण सरकारी तथा गैरसरकारी निकाय, शिक्षण संस्था लगायतमा बिदा रहेको प्रवक्ता भट्टले बताए । 

यस्तै जिल्लाको दशरथचन्द नगरपालिकाले नगर क्षेत्रभित्र भोलि सार्वजनिक बिदा दिएको छ । नगरपालिकाको वडा नं ८ स्थित प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा लाग्ने जात्राको अवसरमा बिदा दिइएको नगरपालिकाले जनाएको छ । 

स्थानीयहरुले रणशैनी भगवतीको रुपमा पुकार्ने त्रिपुरासुन्दरी जात्राको अवसरमा भोलि पालिकाभरीका सबै सरकारी तथा गैरसरकारी निकाय, शिक्षण संस्था लगायतमा सार्वजनिक बिदा रहेको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  ०७:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update