Sagun Khabar
बैतडीको सुर्नयामा बोहरीगाउँ–पबिता सडक निर्माण कार्य शुरु 

बैतडी –बैतडीको सुर्नया गाउँपालिकामा बोहरीगाउँ–पबिता सडक निर्माण कार्य शुरु भएको छ । सडक निर्माण कार्यको आज एक कार्यक्रमकाबीच उद्दघाटन गरिएको छ । 

सडक निर्माण कार्यको उद्दघाटन गर्दै गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले पालिकाका सबै वडाबाट पालिकाको केन्द्रसम्म सहज पहुँच होस भनेर सडक निर्माणलाई प्राथमिकतामा राखेको बताए । 

सुदूरपश्चिम प्रदेश सरकारको ३० लाखको लगानीमा उक्त सडकखण्डको निर्माण कार्य शुरु गरिएको हो । पूर्वाधार विकास कार्यालयमार्फत काम अघि बढाउने हिसाबले गत बर्ष नै प्रमोद कन्सट्रक्सनले सो सडक निर्माणको ठेक्का पाएको थियो । १५÷१५ लाखका दुईओटा प्याकेजमा सडक निर्माण गरिने बताइएको छ । 

गत बर्ष निर्माण कार्य शुरु नभएपछि म्याद थपेर आजदेखि सडक निर्माण कार्य शुरु गरिएको अध्यक्ष कुँवरले बताए । सडक निर्माण गर्ने ठेकेदारलाई समयमै सडक निर्माण कार्य सम्पन्न गर्न आग्रह समेत गरिएको उनले बताए । 

यो सडक निर्माण भएमा सुर्नया गाउँपालिका वडा नं ५ को बोहरीगाउँ, सिमार, डोब, ककस्याली, धुलिधार र रडीगाउँ क्षेत्रका बासिन्दा लाभान्वित हुने बताइएको छ । सडकलाई पालिकाको केन्द्रसम्म जोड्ने लक्ष्य लिएको गाउँपालिका अध्यक्ष कुँवरले बताए । 

यो बजेटको काम सकिएपछि सडक निर्माणका लागि थप बजेटको पहल गरिने उनको भनाइ छ । 

सडक निर्माण कार्यको उद्दघाटन कार्यक्रममा पालिका अध्यक्ष कुँवरका साथै वडा नं ५ का वडा अध्यक्ष केशवसिंह बिष्ट, नेकपा एकीकृत समाजवादीका नेता नरेन्द्र बिष्ट लगायतका अन्य स्थानीयहरुको सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १६:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update