बैतडी –धार्मिक कार्यक्रममा सहभागिता जनाउनका लागि बैतडीमा रहेका सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले मेलौली भगवतीको दर्शन गरेका छन् ।
बिहीबार बैतडीको मेलौली पुगेका प्रदेश प्रमुख जोशीले जिल्लाको मुख्य धार्मिक स्थलको रुपमा मेलौली भगवतीको दर्शन गरेका हुन् ।
मन्दिरको दर्शन अघि प्रदेश प्रमुख जोशीलाई मेलौली नगरपालिकाको कार्यालयमा स्वागत गरिएको थियो । मेलौली नगरपालिका नगरप्रमुख भीमबहादुर चन्द, उपप्रमुख पार्वती बोहरा बिष्ट, मेलौली नगरपालिका वडा नं ९ का वडा अध्यक्ष लोकराज भट्ट, वडा नं ७ का वडा अध्यक्ष रामचन्द्र भट्ट, वडा नं ५ का वडा अध्यक्ष भरत पुजारा, मेलौली धार्मिक सेवा समितिका अध्यक्ष जगदिशसिंह नायक लगायतका व्यक्तिहरुले प्रदेश प्रमुख जोशीलाई स्वागत गरेका हुन् ।
यही मंसिर ४ गते बैतडी पुगेका प्रदेश प्रमुख जोशीले यसअघि त्रिपुरासुन्दरी भगवती मन्दिरमा दर्शन एवं पूजाआजा गरेका थिए ।
प्रदेश प्रमुख जोशी बैतडीबाट दार्चुला जाने कार्यक्रम रहेको छ । त्यहाँ उनले राष्ट्रकै सातौं धामको रुपमा रहेको मालिकार्जुन धाममा दर्शन र पूजाआजा गर्ने कार्यक्रम रहेको छ भने जोलजिवी मेलामा सहभागी हुने कार्यक्रम समेत रहेको छ ।
प्रदेश प्रमुख जोशी मंसिर १० गते धनगढी फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।





