Sagun Khabar
मेलौली भगवतीको ‘देहीजात’भोलि र पर्सी 

बैतडी –बैतडीको प्रसिद्ध मेलौली भगवती मन्दिरमा लाग्ने ‘देहीजात’ भोलिदेखि शुरु हुँदैछ । हरेक बर्ष कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन लाग्ने जात्रालाई ‘देहीजात’ भन्ने गरिन्छ । 

मेलौली नगरपालिका १ स्थित प्रसिद्ध मेलौली भगवती मन्दिरमा लाग्ने ‘देहीजात’मा टाढाटाढाका भक्तजनहरु आउन थालेका मेलौली धार्मिक सेवा समितिका अध्यक्ष जगदीशसिंह नायकले बताए । जात्रामा राँगाको बलि दिइने गरेको उनले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

‘देहीजात’मा मेलौली भगवतीको दर्शनका लागि नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत आउने क्रम शुरु भएको नायकले बताए । यो जात्रालाई आफन्तजनहरुले भेटघाटको रुपमा समेत लिने गर्दछन् । टाढाटाढाका आफन्तबीच भेट हुने भएकाले सामाजिक सदभावका लागि यो जात्रा निकै महत्वपूर्ण रहेको बताइएको छ । 

यस्तै जात्रामा स्थानीय उत्पादनले समेत बजार पाउने गरेको छ । यो जात्रामा यहाँको लोकप्रिय खाना माँडा समेत पाइने गरेको छ । आफन्तजन तथा इष्टमित्रहरुका लागि जात्रामा आउनेहरुले माँडा लिएर आउने प्रचलन रहेको छ ।

जात्राको अवसरमा मेलौली नगरपालिकाले दुई दिन सार्वजनिक बिदा समेत दिएको छ । भोलि र पर्सी नगर क्षेत्रभित्र सार्वजनिक बिदा रहेको नगरपालिकाले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  १०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update