बैतडी–सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले संघीय कानुन निर्माणमा ढिलाई हुँदा प्रदेश सरकारलाई काम गर्न बाधा पुगेको बताएका छन् । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले चितवनमा आयोजना गरेको बिषयगत समितिको बैठकमा भाग लिँदै मन्त्री भट्टले संघीय कानुन निर्माण नहुँदा प्रदेश र स्थानीय सरकारहरुलाई कानुन बनाउन बाधा पुगेको बताए ।
संघीयताको मर्म अनुसार तीनै सरकार चलायमान हुनुपर्ने भएपनि संघीय कानुन निर्माणको अभावमा प्रदेश र स्थानीय सरकारहरुलाई चुनौती थपिएको उनको भनाइ छ । संघीय कानुन निर्माण नहुँदा बनेका प्रदेशका कानुन समेत कार्यान्वयन हुन नसकेको मन्त्री भट्टले बताए ।
सातओटै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सहभागी रहेको बैठकले ऐन कानुन निर्माणका बिषयमा समेत विभिन्न निर्णय गरेको बताइएको छ ।
सुदूरपश्चिमका आन्तरिक मामिला कानुन मन्त्री भट्टका स्वकीय सचिव केशवराज जोशीका अनुसार संघ, प्रदेश र स्थानीय तहको कानुन तर्जुमाका सम्बन्धमा सहकार्य गरेर अघि बढ्ने निर्णय भएको छ ।
यस्तै संघीय कानुनको अभावमा प्रदेश र स्थानीय तहमा परेको प्रभावलाई बिश्लेषण गर्दै कानुन निर्माणका लागि समेत पहल गरिने निर्णय भएको जोशीले बताए ।




