Sagun Khabar
डडेल्धुराको भागेश्वर गाउँपालिकामा पाँच जना उद्यमी सम्मानित  

डडेल्धुरा –डडेल्धुराको भागेश्वर गाउँपालिकाले पालिकाभित्र रहेका ५ जना उद्यमीहरुलाई नगदसहित सम्मान गरेको छ । नवौं उद्योग दिवसको अवसरमा पालिकाले प्रत्येक वडाबाट एक÷एक जना गरेर पाँच जना उद्यमीलाई सम्मान गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भारतीले बताए । 

‘स्वदेशी उत्पादन अभियान उद्यमीको सम्मान ’भन्ने नारासहित दिवसको अवसरमा पाँच जनालाई सम्मान गरिएको हो । शनिबार एक कार्यक्रमकाबीच उद्यमीहरुलाई गाउँपालिका अध्यक्ष हेमराज चटौतले प्रतिव्यक्ति दुई हजार नगदसहित सम्मान पत्र प्रदान गरे । 

स्वास्थ्य सन्देश
Atrya hospital

दिवसको अवसरमा सम्मानित हुनेमा वडा नं १ को पोलेक अल्लो प्रशोधन साझा सुविधा केन्द्रका उद्यमी करिश्मा थापा मगर, वडा नं २ स्थित बुढामगर सिलाई सेन्टरका सञ्चालक कौशिला बुढामगर, वडा नं ३ स्थित मंगलेश्वर कृषि तथा पशुपालन फर्मका सञ्चालक मानसिंह मडै, वडा नं ४ स्थित अशिग्राम कृषि तथा पशुपालन फर्मका सञ्चालक प्रेम नाथ र वडा नं ५ स्थित करिना कृषि तथा पशुपन्छी फर्मका सञ्चालक टेकसिंह चाड रहेका छन् । 

गाउँपालिकाको नीति तथा कार्यक्रममा उद्यमीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यसहित सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत भारतीले बताए । स्वदेशी उत्पादन गाउँपालिकाभरी पुर्याउने पालिकाको लक्ष्य रहेको उनले बताए । 

उद्यमीहरुलाई सम्मान गर्दै गाउँपालिका अध्यक्ष चटौतले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्दै उद्यम गरिरहेकाहरुलाई भागेश्वर गाउँपालिकाले आगामी दिनमा समेत सहयोग गर्ने बताए । 
 

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  १४:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update