Sagun Khabar
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान : पाटनमा एकल महिलालाई सहयोग 

बैतडी –लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान आजदेखि शुरु भएको छ । बैतडीका विभिन्न स्थानीय तहमा अभियानको शुरुवात गरिएको छ । ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने मूल नारासहित आजदेखि आउँदो २४ गतेसम्म अभियान सञ्चालन हुनेछ । 

अभियानको शुरुवातकै दिन पाटन नगरपालिकाले हिंसा प्रभावित एकल महिलालाई सहयोग गरेको छ । पाटन नगरपालिका –९ गैराखानकी जानकी धामीलाई सहयोग गरिएको हो । नगरपालिकाको तर्फबाट खाद्यान्नका सामग्री, ओढ्ने–ओछ्याउने लुगाकपडा, भाडाकुडा र सरसफाइका सामग्री सहयोग गरिएको पाटन नगरपालिका वडा नं ९ का अध्यक्ष कालुसिंह भाटले जानकारी दिए । 

लैंगिक हिंसा निवारण कोषबाट रकम खर्च गरेर ती महिलालाई सहयोग गरिएको पाटन नगरपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख बिष्ना भण्डारीले बताइन् । धामीको घरमै पुगेर उनलाई सामग्री प्रदान गरिएको हो । 

धामीलाई सहयोग सामग्री हस्तान्तरणका लागि पाटन नगरपालिका उपप्रमुख कमलसिंह बोहरा, वडा नं ९ का वडा अध्यक्ष कालुसिंह भाट, महिला शाखा प्रमुख बिष्ना भण्डारी, महिला सुरक्षित आवास गृहका मनोपरामर्र्शकर्ता डम्मरी भट्ट, सामुदायिक मनोसमाजिक कार्यकर्ता संयोजक हेमन्ती खत्री, मनोसामाजिक कार्यकर्ता लक्ष्मी बिष्ट र मनोसामाजिक कार्यकर्ता भुवि बिष्ट लगायतको व्यक्तिहरुको धामीको घरमा पुगेका थिए । 

पाटन नगरपालिका वडा नं ९ को कार्यालयले समेत धामीको घर मर्मत सम्भारका लागि २० हजार बजेट विनियोजन गरिसकेको छ । यस्तै वडा कार्यालयबाट यसअघि पनि धामीलाई १० हजार सहयोग गरिएको अध्यक्ष भाटले बताए । वडा कार्यालयबाटै प्रदान गरिएको सोलार सेट समेत आजै धामीको घरमा जडान गरिएको छ । 

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानमा नगरपालिका १० ओटै वडामा हिंसा प्रभावित महिलाहरुलाई सहयोग गर्ने कार्यक्रम रहेको वडा अध्यक्ष भाटले बताए । हिंसा प्रभावितहरुमध्ये पनि सबैभन्दा बढी समस्या भएकालाई छनौट गरेर सहयोग गर्ने नीति लिएको उनले बताए । 

यस्तै दशरथचन्द नगरपालिकामा पनि आज अभियानको उद्दघाटन गरिएको छ । 
 

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  १७:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update