बैतडी –बैतडीका दुईओटा स्थानीय तहहरुले आज बिदा दिएका छन् । जिल्लाको दशरथचन्द नगरपालिका र मेलौली नगरपालिकाले जात्राको अवसरमा स्थानीय बिदा दिएका हुन् ।
मेलौली नगरपालिकाले प्रसिद्ध मेलौली भगवती मन्दिरमा लाग्ने ‘देहीजात’को अवसरमा आज र भोलि बिदा दिएको छ । नगरपालिकाले जात्राको अवसरमा नगरपालिका भित्रका सबै सरकारी कार्यालय, गैरसरकारी निकाय, शिक्षण संस्था, बैंक तथा बित्तीय संस्था लगायतमा बिदा रहेको जनाएको छ ।
यस्तै जिल्लाको प्रसिद्ध जगन्नाथ धाममा लाग्ने जात्राको अवसरमा दशरथचन्द नगरपालिकाले आज स्थानीय बिदा दिएको छ । आज नगरपालिका मातहत रहेका सबै सरकारी निकाय, गैरसरकारी निकाय, शिक्षण संस्था लगायत बन्द रहने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
जगन्नाथ धाममा हरेक बर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन जात्रा लाग्ने गर्दछ । जगन्नाथ धामको जात्रामा बैतडीका मात्रै नभएर अन्य ठाउँका दर्शनार्थीहरु समेत आउने गरेका छन् ।
यस्तै प्रसिद्ध मेलौली भगवती मन्दिरमा लाग्ने जात्राको अवसरमा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत आउने गरेका छन् ।




