बैतडी –नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बैतडी आउने भएका छन् । झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको उद्दघाटन गर्न अध्यक्ष ओली बैतडी आउन लागेका हुन् ।
संकल्प यात्राको यही मंसिर १४ गते बैतडीको झुलाघाटबाट उद्दघाटन गरिने र सो यात्राको उद्दघाटनका लागि अध्यक्ष ओलीसहित केन्द्रीय कमिटिका पदाधिकारी र सदस्यहरु बैतडी आउन लागेका एमाले बैतडी उपसचिव लोकेन्द्र भण्डारीले बताए ।
एमालेले बैतडीको झुलाघाटबाट सञ्चालन गर्ने झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको तयारी भइरहेको समेत जनाएको छ । अध्यक्ष ओली यात्राको उद्दघाटनका लागि मंसिर १३ गते बैतडी आइपुग्ने कार्यक्रम रहेको छ । उनीसंगै बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल लगायतका नेताहरु बैतडी आउने कार्यक्रम रहेको उपसचिव भण्डारीले बताए ।
मंसिर १३ गते अध्यक्ष ओलीलाई बैतडीको अनारखोलीमा स्वागत गर्ने र छलफल गर्ने कार्यक्रम तय भएको छ भने पाटनमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको उपसचिव भण्डारीले बताए ।
मंसिर १३ गते साँझ प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा सन्ध्याकालिन आरतीमा अध्यक्ष ओलीसहितको टोली सहभागी हुने कार्यक्रम रहेको छ ।
यस्तै गढीमा रहेको एमाले बैतडीको पार्टी कार्यालय भवन उद्दघाटन कार्यक्रम समेत रहेको उपसचिव भण्डारीले बताए ।
मंसिर १४ गते बिहान साढे ८ बजे झुलाघाटमा संकल्प यात्राको उद्दघाटन गरेपछि बिहान ११ बजे गोठलापानीमा आयोजना हुने आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यस्तै बिहानै अध्यक्ष ओलीसहितको टोलीले बिहानै त्रिपुरासुन्दरी भगवतीको दर्शन गर्ने, शहीद दशरथ चन्दको शालिक र शहीद बल्देव ‘रिचपले’को शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ ।
मंसिर १४ गते नै अध्यक्ष ओली बैतडीबाट फर्कने कार्यक्रम रहेको छ । संकल्प यात्राका लागि दुई सय जनाको टोली केन्द्रबाटै आउने र त्यसपछि हरेक जिल्लाबाट सदस्यहरु थपिँदै जाने उपसचिव भण्डारीले बताए ।
संकल्प यात्राका लागि जिल्लामा आवश्यक तयारी भइरहेको एमाले बैतडीले जनाएको छ । विभिन्न उपसमितिहरु यसअघि नै गठन भइसकेका र ती उपसमितिहरुले आफ्नो कामहरु गरिरहेका बताइएको छ ।
संकल्प यात्राको तयारीका लागि एमाले बैतडीका इञ्चार्ज निरु पाल, एमालेका पोलिट्ब्युरो सदस्य राजेन्द्रसिंह रावल, केन्द्रीय सदस्य लिलाधर भट्ट, एमाले सुदूरपश्चिमका निवर्तमान अध्यक्ष दामोदर भण्डारी लगायतका नेताहरु बैतडीमै रहेका छन् ।
समाजवादी नेताहरुलाई एमालेमा फर्काउने प्रयास
यसैबीच अध्यक्ष ओली बैतडी आएकै बेला एकीकृत समाजवादीका नेताहरुलाई पार्टीमा फर्काउने प्रयास पनि भइरहेको छ । विगतमा एमालेमै रहेका र अहिले एकीकृत समाजवादीमा आवद्ध भएका नेताहरुलाई पार्टीमा फर्काउने प्रयास भइरहेको उपसचिव भण्डारीले बताए ।
नेताहरुसंग छलफल भइरहेको र यसको टुंगो लाग्न भने बाँकी रहेको छ । भण्डारीले भने ‘स्वभाविक रुपमा नेताहरुलाई पार्टीमा फर्काउन छलफल भइरहेको छ । छलफल सकारात्मक रुपमा अगाडि बढीरहेको छ ।’
यता एकीकृत समाजवादीका नेताहरुले पनि एमालेका नेताहरुसंग छलफल भइरहेको बताएका छन् । एमालेका नेताहरुसंग छलफल भइरहेको र अहिले नै टुंगो नलागेको एकीकृत समाजवादी बैतडीका अध्यक्ष महादेव भट्टले बताए । उनले भने ‘नेताहरुसंग छलफल हुने कुरा स्वाभाविक हो । अहिले नै के गर्ने भन्ने बिषय टुंगिएको छैन् । विगतमा एकै पार्टीमा बसेर काम गरेका नेताहरुसंग छलफल हुनु अनौठो बिषय होइन् ।’
एकीकृत समाजवादीका नेता नरेन्द्र बिष्टले पनि एमाले नेताहरुसंग छलफल भइरहेको पुष्टि गरे । ‘नेताहरुसंग छलफल भइरहेको छ । पार्टीमै फर्कन कुरा अहिले नै केही भएको छैन् ।’उनले भने ‘तर जुन हिसाबले समाजवादी आन्दोलन अगाडी बढ्नुपथ्र्यो त्यो हिसाबले अघि बढ्न सकेको छैन् । यसका लागि हामीले समीक्षा गर्न आवश्यक ठानेका छौं ।’
एकीकृत समाजवादी नेता भट्ट, बिष्टसहित पार्वती भट्ट, चमनकुमार भण्डारी लगायतका नेताहरु एमालेमा फर्कने चर्चा भइरहेको छ । यस्तै २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट पाटन नगरपालिकाको उपप्रमुख निर्वाचित भएकी सरस्वती कोली पनि एमालेमा प्रवेश गर्ने चर्चा चलेको छ ।
पार्टीमा प्रवेश गर्नेहरुलाई एमाले अध्यक्ष ओलीले मंसिर १४ गते पार्टीमा प्रवेश गराउने हिसाबले तयारी भइरहेको एमाले स्रोतले जनाएको छ ।




