Sagun Khabar
डडेल्धुराको उग्रतारामा भोलि ‘देहीजाँत’, अमरगढीले दियो स्थानीय बिदा 

डडेल्धुरा –सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष लाग्ने मेला ‘देहिजाँत’ भोलि  लाग्ने भएको छ । हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) र दोस्रो दिन (दिउसेडी) मेला लाग्छ । आज रतेडी र भोलिदिउसेडी लाग्ने उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ । उक्त अवसरमा जिल्लाको अमरगढी नगरपालिकाले भोलि स्थानीय बिदा दिएको छ ।

छचोडा, खनमडा, दुमडा र जिलोडा भ्राण (भण्डार) रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आएपछि ‘दिउसेडी’ मेला सुरु हुन्छ । डडेल्धुरा सदरमुकामबाट ४ किलोमिटर टाढा अमरगढी नगरपालिका–८ को सुन्दर डाँडामा अवस्थित महाशक्तिपीठ उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेलामा हजारौं दर्शनार्थी पूजा–आराधना गर्न पुग्छन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

देहिजातको रूपमा मानिने उग्रतारा भगवती मेलामा सुदूरपश्चिम प्रदेश, कर्णाली तथा छिमेकी देश भारतबाट समेत हजारौँको संख्यामा श्रद्धालु भक्तजन हरेक वर्ष पुग्ने गरेको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले जानकारी दिए । परम्परादेखि लाग्दै आएको यस मेलाको आफ्नो महत्व रहेको समेत उनको भनाइ छ ।

भगवती माताको पूजा बिहान चार बजे धार्मिक परम्परागत रूपमा दाइन दमाह, रुइसिंग, विकुल, भोकर, शंक, घण्टा इत्यादी बाजागाजाका साथ चारवटै गाउबाट माता भगवतीको डोलीसहित देउरो उग्रतारा मन्दिरमा पुगेसँगै भगवती माताको पूजा सुरु हुने अध्यक्ष साँकीले बताए।

बिहानको पूजाआजा पछि दिउँसो भगवती माताको गाँज मन्दिरलगायत सयौँ एकडमा फैलिएको मैदानको विषेश चार स्थानमा बाजागाँजाका साथ घुमाइन्छ । बिहान चारवटै गाउँको भ्राणबाट ल्याइएको माताभगवतीको देउरो बेलुका पुनः चारवटै गाउँको भम्रणमा लगिमेला सम्पन्न हुने गर्दछ । 

किम्बदन्तीअनुसार २५ सय वर्ष पहिला हालको अमरगढी नगरपालिका लटाउली बस्ने साँकी जातिका स्थानीयले हलो जोत्दा हलोको फाली लागेर रगत बगेपछि देवी उत्पन्न भएर दर्शन दिएपछि त्यस दिनदेखि महागौरी दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको जनविश्वास छ ।

वर्षमा एकपटक भव्य रूपमा लाग्ने उग्रतारा माताको दर्शन गरेमा दैवी प्रकोप नहुने, सुख प्राप्ति, मनोकामना पूरा हुने जनविश्वास रही आएको छ ।
 

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १२:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update