Sagun Khabar
उग्रतारा मन्दिरको प्रसिद्ध ‘देहीजाँत’आज 

डडेल्धुरा –सुदूरपश्चिमको प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष लाग्ने ‘देहीजाँत’ शुरु  भएको छ । डडेल्धुरा सदरमुकामबाट ४ किलोमिटर टाढा अमरगढी नगरपालिका–८ को दशरथचन्द राजमार्गसँगै सुन्दर डाँडामा अवस्थित मन्दिरमा हिजो रतेडी र आज दिउसेडी मेला सुरु भएको हो । 

२५ सय वर्ष पहिला हालको अमरगढी नगरपालिका लटाउली बस्ने साँकी जातिका स्थानीयले हलो जोत्दा हलोको फाली लागेर रगत बगेपछि देवी उत्पन्न भएको किम्वदन्ती रहीआएको छ । त्यसै दिनदेखि दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको जनविश्वास छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

खनमडा, छचोडा, दुमडा र जिलोडामा भ्राण (भण्डार) रहेको उग्रतारा भगवतीको मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आएपछि दिउसेडी मेला सुरु हुने गरेको छ । उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेलामा हजारौँ दर्शनार्थीहरु पूजा आराधनाका लागि पुगेका उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ । 

ज्ञानकी ज्योती तारादेविको अर्को रुपमा नै उग्रतारालाई चिनिन्छ । मेला व्यापार व्यवसाय एवम् आफन्तजन संगको भेटघाट हुने थलोको रुपमा ‘देहीजाँत’लाई लिनेको गरिएको छ । यस्तै सुदूरपश्चिमको लोकप्रिय खाना ‘माँडा’ देहीजाँतमा प्रशस्त देख्न पाइन्छ । 

वर्षमा एकपटक लाग्ने ‘देहीजाँत’मा उग्रतारा माताको दर्शन गरेमा दैवी प्रकोप नहुने, सुख प्राप्ती हुने, मनोकामना पूरा हुने जन विश्वास रही आएको छ । 

यस्तै ‘देहीजाँत’को अवसरमा आज अमरगढी नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । नगर क्षेत्रभित्रका सबै सरकारी तथा गैरसरकारी निकाय, शिक्षण संस्था लगायतमा सार्वजनिक बिदा रहेको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  ०८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update