
बैतडी–बैतडीका एक युवकको भारतको दिल्लीमा सडक दुर्घटनामा परी मृत्यु भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका–९ ग्वाल्लेक घर भएका ३३ बर्षीय ललितप्रसाद जोशीको सडक दुर्घटनमा परेर सोमबार बिहान दिल्लीमा मृत्यु भएको दशरथचन्द नगरपालिका वडा नं ९ का वडा अध्यक्ष मोहनदेव जोशीले बताए ।
विगत १२ बर्षदेखि दिल्लीको एक कम्पनीमा मेनेजरको रुपमा काम गर्दै आएका जोशी स्कुटरमा सवार रहेको बेला दुर्घटना परेका हुन् । साथीले चलाएको स्कुटर दुर्घटना हुँदा उनी सडकमा लडेका र सडकमा गुडीरहेका ट्रकले किच्दा उनको घटनास्थलमै मृत्यु भएको जोशीले बताए ।
जोशीको घरमा श्रीमती, एक छोरा र एक छोरी रहेका छन् । यस्तै बुढेसकालका आमाबुवा र दुईभाइ रहेका छन् ।
जोशीको दिल्लीमा निधन भएपछि घरपरिवार र गाउँ शोकमा डुबेको वडा अध्यक्ष जोशीले बताए । पैसा कमाउनका लागि गएका जोशीको भारतमै निधन भएपछि घरपरिवार सम्हालिन गाह्रो भएको उनले बताए ।