Sagun Khabar
पिएम कप महिला क्रिकेट:  बैतडीमा छनौट शुरु 

बैतडी –प्रधानमन्त्री कप महिला टि– २० राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बैतडीमा छनौट शुरु भएको छ । 

दशरथचन्द क्रिकेट मैदान,सुन्दरखालीमा मंगलबार एक औपचारिक कार्यक्रमको आयोजना गरेर छनौट प्रतियोगिताको शुभारम्भ गरिएको छ । 

प्रतियोगिताको नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावलले संयुक्त रुपमा उद्दघाटन गरे । 

Atrya hospital

यस्तै उद्दघाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेशका क्रिकेट प्रशिक्षक दीपेन्द्रबहादुर चन्द, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सदस्य शेर खत्री लगायतको उपस्थिति रहेको थियो  । 

प्रतियोगितामा बैतडी जिल्ला क्रिकेट संघमा आवद्ध क्लबका खेलाडीहरूको सहभागीता रहेको छ । 

मंगलबार भएको छनौट खेलमा निङ्गलाशैनी क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै दशरथचन्द स्मृति प्रतिष्ठान विजयी भएको छ । 

निङ्गलाशैनीले दिएको ९० रनको लक्ष्य प्रतिष्ठानले १५.१ ओभरमा ४ विकेटको क्षतिमा भेट्टाएको स्कोरर दीपेन्द्रबहादुर बोहराले बताए ।

तीनदिनसम्म सञ्चालन हुने प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरूबाट प्रारम्भिक टोली घोषणा गरिने बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ । प्रारम्भिक टोलीलाई बन्द प्रशिक्षणमा बोलाइने र बन्द प्रशिक्षणमा उत्कृष्ट प्रदर्शनको आधारमा जिल्लाको अन्तिम टोली सार्वजनिक गरिने जनाइएको छ ।  

जिल्लामा छनौट भएको टोलीले सुदूरपश्चिम प्रदेशस्तरीय  क्रिकेट छनौटमा सहभागिता  जनाउनेछ । प्रदेशमा उत्कृष्ट प्रदर्शन गरेर छनौट भएका खेलाडीले राष्ट्रिय प्रतियोगिता खेल्नेछन् । 

प्रदेशस्तरीय छनौट प्रतियोगिता यही मंसिर २४ गतेदेखि कञ्चनपुरको महेन्द्रनगरमा हुँदैछ । प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता पुस १ गतेदेखि काठमाडौंमा हुने नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । 

प्रतियोगितामा सात प्रदेश र एक विभागीय क्लब एपीएफको सहभागिता रहनेछ ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update