Sagun Khabar
बैतडीको श्रीकेदारमा सांस्कृतिक महोत्सवको तयारी पूरा, परराष्ट्रमन्त्रीले उद्दघाटन गर्ने 

बैतडी–बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ४ मा भोलिदेखि सञ्चालन हुने श्रीकेदार सांस्कृतिक महोत्सव तथा व्यापार मेलाको तयारी पूरा भएको छ । 

बृहत कृषि, पर्यटन स्वास्थ्य शिविरसहित सांस्कृतिक महोत्सव र व्यापार मेलाको आयोजना गरिएको र तयारी पूरा भएको आयोजक श्रीकेदार संस्कृति संरक्षण समाजका अध्यक्ष सुरेन्द्रप्रसाद भट्टले बताए । संस्कृतिको संरक्षण गर्ने र स्थानीय बजारको विकासका लागि मेलाको आयोजना गरिएको उनले बताए । 

सांस्कृतिक महोत्सव तथा व्यापार मेलाको परराष्ट्रमन्त्री एनपी साउदले उद्दघाटन गर्ने कार्यक्रम रहेको छ । श्रीकेदार मावि पिपलकोटको प्रांगणमा भोलि दिउँसो परराष्ट्रमन्त्री साउँदले महोत्सवको उद्दघाटन गर्ने अध्यक्ष भट्टले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

आगामी माघ २ गते सम्म सञ्चालन हुने सांस्कृतिक महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको सहभागिता रहने बताइएको छ । 

महोत्सव तथा व्यापार मेलामा विभिन्न स्वास्थ्य शिविर सञ्चालन हुनुका साथै स्थानीय उत्पादनहरुको विक्रि वितरणका लागि स्टलहरु राखिएका बताइएको छ । 

महोत्सवकै समयमा स्वास्थ्य कार्यालयको सहयोगमा खानेपानीको मूहानहरुको परीक्षण गर्ने कार्यक्रम रहेको छ भने घरपालुवा कुकुरहरुलाई रेबिजविरुद्धको खोप लगाउने कार्यक्रम समेत तय भएको अध्यक्ष भट्टले बताए । 

यस्तै पौष २८ र २९ गते आँखाका बिरामीहरुका लागि शल्यक्रियासहितको शिविर सञ्चालन हुने बताइएको छ । गेटा आँखा अस्पतालसँगको सहकार्यमा आँखा शिविर सञ्चालनको तयारी भएको हो । 

महोत्सव तथा व्यापार मेलाको समयमा स्थानीय नागरिकहरुलाई विभिन्न सरकारी सेवाहरु घरदैलोमा पुर्याउने प्रयास भइरहेको अध्यक्ष भट्टले बताए । 

महोत्सवको पहिलो दिन भोलि भानुभक्त जोशी, गौरी भट्ट, जे आर भट्ट, सौगात ओझा लगायतका कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update