Sagun Khabar
बैतडीमा आजदेखि जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता 
तस्बिर : प्रतियोगितामा सहभागी हुन मेलौली पुगेको दनपाको टीम, फोटो :मनोज बोहरा

बैतडी –बैतडीमा आजदेखि जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदैछ । जिल्लाको मेलौली नगरपालिकामा पहिलोपटक जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगिता हुन लागेको जिल्ला खेलकुद  समितिका अध्यक्ष चमनकुमार भण्डारीले जानकारी दिए । जिल्ला खेलकुद विकास समितिको आयोजना र मेलौली नगरपालिकाको सहआयोजनामा प्रतियोगिता हुन लागेको हो । 

प्रतियोगितामा सहभागिताका लागि १० ओटै पालिकाका टीमहरु मेलौली पुगीसकेका छन् । प्रतियोगिता बिहान ८ बजेदेखि शुरु हुनेछ भने उद्दघाटन समारोह भने बिहान साढे ११ बजे शुरु हुने अध्यक्ष भण्डारीले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

प्रतियोगिताको उद्दघाटन बैतडीबाट निर्वाचित संघीय सांसद दामोदर भण्डारीले गर्ने कार्यक्रम रहेको छ । उद्दघाटन समारोहमा नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द, प्रदेश सभा सदस्य  जानकी ऐर बम, प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा, १० ओटै पालिकाका प्रमुख तथा उपप्रमुख सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि र अन्य सरोकारवालाहरुको सहभागिता रहने जिल्ला खेलकुद विकास समितिले जनाएको छ। 

प्रतियोगितामा छात्र छात्रा अन्तर्गत भलिबल, कबड्डी, एथलेटिक्स, कराते हुने  जनाइएको छ । प्रतियोगितामा १० स्थानीय तहका ८ सयभन्दा बढी खेलाडी र प्रशिक्षक सहभागी हुने जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख तर्कराज जोशीले बताए ।

गत वर्ष पाटनमा सम्पन्न १३ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले जितेको थियो । 

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  ०७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update