Sagun Khabar
धार्मिक आस्थाको धरोहर वनारसी धाम 

बैतडी–बैतडीका प्रख्यात धामहरु मध्ये पाटन नगरपालिका वडा नं –३ स्थित वनारसी धाम आस्थाको केन्द्र बन्दै गएको छ । परापूर्वकालदेखि नै सरयु अर्थात सुर्नया नदीको किनारमा अवस्थित वनारसी धाममा पछिल्लो समयमा ज्योतिर्लिङ्ग स्थापना गरेपछि दर्शनार्थीहरुको संख्या बढ्दै गएको पण्डित गणेशप्रसाद पन्तले बताए । 

भगवान शिवका बाह्र ज्योतिर्लिङ्गमध्ये विश्वनाथ ज्योतिर्लिङ्ग वनारसी धाममै रहेको दाबी गरिएको छ । नेपालका प्रथम ऐतिहासिक जगदगुरु बालसन्त मोहनशरण देवाचार्यले वनारसी धाम नै विश्वनाथ ज्योतिर्लिङ्ग भएको बताउँदै आएका छन् । उनकै अगुवाईमा मन्दिर समेत निर्माण भएर ज्योतिर्लिङ्ग स्थापना गरिएको पण्डित पन्तले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

वनारसी धामलाई पहिलादेखि शक्तिशाली देवताको रुपमा पूजाआजा गर्ने चलन रही आएको स्थानीय हरिदत्त पन्तले बताए । देवता र दैत्यबीचको लडाईँ भएका बेला खपरे दैत्यको बध वनारसी देवताले गरेको किम्वदन्ती रही आएको छ । सोही बेलादेखि वनारसी धामलाई शक्तिशाली देवताको रुपमा पूजाआजा गर्ने चलन रही आएको छ । 

हरेक बर्ष माघ शुक्ल दशमीका दिन वनारसी धाममा जात्रा लाग्ने गर्दछ । यो बर्षको जात्रा फागुन ७ गते परेको पन्तले बताए । वनारसी धामको जात्रामा दर्शनका लागि दर्शनार्थीहरु पुग्ने क्रम जारी रहेको उनले बताए । माघ शुक्ल प्रतिपदादेखि नै वनारसी धाममा पूजाआजा गर्नेहरुको घुइँचो बढेको उनले बताए । उनले भने ‘वनारसी धामको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ । यसले गर्दा जात्रामा हजारौं दर्शनार्थीहरुको सहभागिता रहन्छ ।’

वनारसी धामलाई स्थानीयहरुले बाइसतालको रुपमा समेत पुकार गर्ने गर्दछन् । यहाँ दलित समुदायका पूजारीले पूजा गर्ने बिशिष्ट परम्परा रही आएको छ । वनारसी धामकोे जात्रालाई सामाजिक सदभावको जात्राको रुपमा लिनुपर्ने स्थानीय रमेश कोलीले बताए । सामाजिक विभेद हटाउन यो जात्राको महत्वपूर्ण भूमिका रहेको उनले बताए । यो जात्रामा दलित समुदायका पूजारीले पूजा गर्ने र सबै समुदायका भक्तजनहरुले टीकाप्रसाद ग्रहण गर्ने प्रचलन रही आएको छ ।  
 

प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  १६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update