बैतडी –नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीको ४० औं बार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीका सभापति विष्णुदत्त अवस्थीको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा जिल्ला समन्वय समिति बैतडीका प्रमुख खगेन्द्रसिंह धामी प्रमुख अतिथी रहेका थिए ।
साधारणसभामा नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिमका प्रदेश महासचिव देवबहादुर बोहराको समेत सहभागिता रहेको थियो । साधारण सभामा जिल्लाभरी रहेका २३ ओटा उपशाखा मध्ये १८ ओटा उपशाखाका प्रतिनिधिहरुको सहभागिता रहेको नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीका मन्त्री रमेशसिंह भण्डारीले जानकारी दिए ।
साधारण सभामा मन्त्री भण्डारीले पेश गरेको बार्षिक प्रतिवेदन र कोषाध्यक्ष पूर्णानन्द लेखकले पेश गरेको आर्थिक प्रतिवेदन पारित भएको छ ।
बार्षिक साधारण सभाले शाखाका निवर्तमान सभापति भीमदत्त पाण्डेयलाई सम्मान गर्ने निर्णय पनि गरेको छ । नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीको स्थापना र विस्तारमा महत्वपूर्ण भूमिका खेलेको भन्दै पाण्डेयलाई सम्मान गर्ने निर्णय भएको मन्त्री भण्डारीले बताए ।
नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीमा २ हजार १ सय ५० आजीवन सदस्य रहेका छन् भने ४ जना विशिष्ट सदस्य रहेका छन् । यस्तै ३ जना यशस्कर सदस्य, २ संस्थागत सदस्य र २८ जना साधारण सदस्य रहेका छन् ।
जिल्लाको सुर्नया गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाले संस्थागत सदस्यता लिएकाले दुवै पालिकालाई संस्थागत सदस्यता प्रदान गरिएको मन्त्री भण्डारीले बताए ।




