Sagun Khabar
प्रजातन्त्र दिवसको अवसरमा वडाका कर्मचारी र शिक्षक सम्मानित 

बैतडी –बैतडीको एक वडाले प्रजातन्त्र दिवसको अवसरमा शिक्षक र कर्मचारीहरुलाई सम्मानित गरेको छ । पाटन नगरपालिका वडा नं ९ को कार्यालयले शिक्षक र कर्मचारीहरुलाई सम्मानित गरेको हो । शिक्षक र कर्मचारीहरुलाई प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो । 

वडामा कार्यरत वडा सचिव रामदत्त जोशी, कार्यालय सहायक तथा कम्प्युटर मदनसिंह भाट, मनोसामाजिक कार्यकर्ता लक्ष्मी बिष्ट भण्डारी र कार्यालय सहयोगी मथुरा साउँद महरालाई वडा कार्यालयले सम्मान गरेको हो । 
वडामा कार्यरत कर्मचारीहरुले उत्कृष्ट कार्यसम्पादन गरेकाले उनीहरुलाई सम्मान गरिएको वडा अध्यक्ष कालुसिंह भाटले जानकारी दिए । 

यस्तै वडाभरी रहेका विद्यालयमा कार्यरत शिक्षकमध्ये चारजनालाई सम्मान गरिएको वडा कार्यालयले जनाएको छ । विद्यालयहरुमा उत्कृष्ट काम गरेको भन्दै ज्ञानेश्वर मावि विजयपुरमा कार्यरत मदनसिंह धामी, सिद्धेश्वर मावि हुक्केडाँडामा कार्यरत ईश्वरी भाट महरा, जनप्रिय आधारभूत विद्यालय ककस्यालीमा कार्यरत मानमती भट्ट र सरस्वती आधारभूत विद्यालय किचारमा कार्यरत द्रोपती चन्द मल्ललाई सम्मान गरिएको हो । 

वडा कार्यालयले सम्मानित गर्दा शिक्षक र कर्मचारीहरु पनि खुसी भएका छन् । वडाले गरेको सम्मानले आफूहरुलाई थप जिम्मेवार बनाएको पाटन नगरपालिका वडा नं ९ मा कार्यरत कर्मचारी मदनसिंह भाटले बताए । 

गाउँघरमा भईरहेका विभिन्न खाले हिंसाहरु न्यूनिकरणमा छलफल परामर्श गर्दै हिंसामा परेका व्यक्तिहरुको न्यायका लागि सहजीकरण गर्दै आईरहेकी मनोसामाजिक कार्यकर्ता लक्ष्मी बिष्ट भण्डारीले पहिलो पटक सम्मानित हुन पाउँदा ज्यादै खुसी लागेको बताइन् । 

शिक्षक र कर्मचारीहरु सम्मानित हुँदा काम गर्ने मनोबल बढेको पाटन नगरपालिका वडा नं ९ का सचिव रामदत्त जोशीले बताए । 

हरेक क्षेत्रमा कार्यरत रहेर उत्कृष्ट काम गर्ने व्यक्तिहरुलाई सम्मान गर्दा उनीहरुको मनोबल उच्च हुने र आफ्नो कामप्रति अझ जिम्मेवारी बोध हुने जिल्ला समन्वय समितिका सदस्य प्रेमसिंह भाटले बताए । 
पाटन नगरपालिका वडा नं ९ को कार्यालयले रचनात्मक कामहरु गरिरहेको बताउँदै यस्ता कामहरुलाई अन्य वडाले पनि शुरुवात गर्नुपर्नेमा उनले जोड दिए । 
 

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  ११:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update