Sagun Khabar
प्रवासमा  रहेका समाजसेवी बिनोदको सहयोगमा फेरियो नेरा माविको ह्वाइट बोर्ड 

बैतडी- बैतडीको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिउंडेको ह्वाइट बोर्ड फेरिएको छ । जिल्लाको सुर्नया गाउँपालिका वडा नं २ ग्वानी घर भइ हाल वैदेशिक रोजगारीको सिलसिलामा भारतको हैदराबादमा रहेका समाजसेवी युवा बिनोद बहादुर विष्टको सहयोगमा नेरा माविको च्यात्तिएको पुरानो बोर्ड फेरिएको हो ।

शुक्रबार सुर्नया गाउँपालिकाको टोलीले वडा नं २ सिउंडे स्थित नेरा माविमा अनुगमन गरेको थियो । अनुगमन पछि अनुगमन टोलीका एक जना व्यक्तिले सामाजिक सञ्जालमा तस्बिरहरु राखेका थिए । फेसबुकमा राखिएका ती तस्बिरहरुमा नेरा माविको ह्वाइट बोर्ड च्यात्तिएको देखिएको थियो । उक्त तस्बिर सामाजिक सञ्जालमा भाइरल नै बन्यो  ।

सो तस्बिर देखेपछि आफुले अध्यन गरेको विद्यालयको ह्वाइटबोर्डको अवस्था देखेर सहयोग गरेको युवा विष्टले बताए । उनले भारतबाट पठाएको पैंसाबाट तीन ओेटा ह्वाइट बोर्ड र एक दर्जन मार्कर खरिद गरेर  मंगलबार   विद्यालयलाई हस्तान्तरण गरिएका युवा हरिश विष्टले बताए ।सुर्नया गाउँपालिका वडा नं २ का वडा अध्यक्ष गणेश बहादुर विष्टको उपस्थितिमा  विद्यालयका सहायक प्रधानाध्यापक मीन बहादुर विष्टलाई ह्वाइट बोर्ड र मार्कर हस्तान्तरण गरिएका हुन्। मनकारी युवाले गरेको सहयोगले शिक्षण सिकाई क्रियाकलापमा सहज भएको शिक्षकहरुले बताए ।

प्रारम्भिक शिक्षा नेरा माविबाट हाशिल गरेका  बिनोद सामाजिक कार्यमा सक्रिय छन । उनले कोरोना कहरका बेला निःशुल्क एम्बुलेन्स सञ्चालन गरेर नागरिकहरुलाई सेवा समेत दिएका थिए । गाउँ समाजको मुहार फेर्ने मनसायले सामाजिक  कार्यमा सरिक हुँदै आएका बिनोद दुःख पीडामा परेकालाई सहयोग पनि गर्दै आएका छन् ।

विदेशमा पसिना बगाएर  स्वदेशको  विकासमा सहयोग गर्ने विनोद जस्ता युवाको  समाजमा खाँचो रहेको स्थानीय युवा पवन चन्दले बताए । समाजका लागि सोच्ने उनको मनोभाव अनुकरणी रहेको उनको भनाई  छ ।  गाउँपालिकाले पनि विद्यालयका यस्ता समस्या बुझेर समाधानका लागि अनुगमन गरेको वडा अध्यक्ष विष्टले बताए ।

विद्यालयका प्रत्येक कक्षा कोठामा ह्वाइटबोर्डहरु पुराना भैसकेर च्यात्तिएकाले सबै फेरिने उनले बताए । त्यसका लागि पहल थालिएको  समेत उनले बताए । केहि दिनमै ह्वाइटबोर्ड  खरिद गरेर वितरण गरिने उनको  भनाइ छ ।  

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १३:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update