Sagun Khabar
बैतडीमा ब्याडमिन्टन प्रतियोगिता : भेट्रानतर्फ सिडिओ र डिएसपीको जोडी प्रथम 

बैतडी –बैतडीमा प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरिएको खुल्ला तथा भेट्रान ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । भेट्रानतर्फको उपाधि प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा र प्रहरी नायब उपरीक्षक दिपक गिरीको जोडीले जितेको छ । 

जगन्नाथ ब्याडमिन्टन हल गढीमा मंगलबार सम्पन्न फाइनल भिडन्तमा इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक सरोज ठकुराठी र पाटन नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत बीरबहादुर खातीको जोडीलाई सोझो सेटमा पराजित गर्दै सीडीओ र डीएसपीको जोडी प्रथम भएको हो । 

Atrya hospital

दुबै सेटमा हाबी भएको सीडीओ र डीएसपीको जोडीले पहिलो सेट २१–१० र दोस्रो सेट २१–१५ को अंकले जित हात पार्यो । उपाधिसंगै सीडीओ र डीएसपीको जोडीले नगद २ हजार ५ सयसहित मेडल र प्रमाणपत्र हात पारेको प्रतियोगिता सञ्चालन समितिका सदस्य गोपालप्रसाद भट्टले बताए । 

यस्तै खुल्लातर्फ भूपाल थापा र केशव महराको जोडी प्रथम भएको छ भने आनन्द थापा र कैलाश थापाको जोडी दोश्रो भएको छ । खुल्लातर्फबाट विजेता तथा उपविजेता जोडीलाई पनि नगद पुरस्कार प्रदान गरिएको भट्टले बताए ।

विजेता उपविजेतालाई दशरथचन्द नगरपालिकाका प्रमुख पुस्करराज जोशीले पुरस्कार वितरण गरे । प्रजातन्त्र दिवस जिल्लास्तरीय मूल समारोह समितिको आयोजनामा यही फागुन ६ गतेदेखि प्रतियोगिता सञ्चालन भएको थियो । 
 

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १४:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update