Sagun Khabar
बैतडीमा निजामति कर्मचारी युनियनले थाल्यो संगठन सुदृढीकरण अभियान 

बैतडी –नेपाल निजामति कर्मचारी युनियन जिल्ला शाखा बैतडीले संगठन विस्तार तथा सुदृढीकरण अभियान शुरु गरेको छ । जिल्लामा कार्यरत निजामति कर्मचारीहरुलाई एकताबद्ध भएर अगाडि बढ्न सहज होस भनेर अभियान शुरु गरिएको नेपाल निजामति कर्मचारी युनियन बैतडीका कार्यवाहक अध्यक्ष मनोजप्रसाद भट्टले जानकारी दिए । 

बैतडीको दशरथचन्द नगरपालिकाबाट अभियानको शुरुवात गरिएको र सबै पालिकाहरुमा अभियान सञ्चालन गरिने कार्यवाहक अध्यक्ष भट्टले बताए । नेपाल निजामति कर्मचारी युनियनमा आवद्ध कर्मचारीहरुलाई संगठनका बिषयमा थप जानकारी दिने र नयाँ कर्मचारीहरुलाई युनियनमा आवद्ध गराउने उद्देश्यका साथ अभियान शुरु गरिएको उनले बताए । 

नेपाल निजामति कर्मचारी युनियनले कर्मचारीहरुका पेशागत हकहितका लागि वकालत गर्दै आएको बताउँदै कार्यवाहक अध्यक्ष भट्टले कर्मचारीहरुका पीरमार्का बुझ्न पनि यो अभियानको थालनी गरिएको बताए । 

बैतडीमा संगठन विस्तार तथा सुदृढीकरण अभियानका लागि निजामति कर्मचारी युनियनका प्रदेश अध्यक्ष धर्म देउवा, केन्द्रीय प्रतिनिधि त्रैलोक्य जोशी, केन्द्रीय सदस्य कमलापती भट्ट र केन्द्रीय सदस्य डम्मर थापा खटिएका छन् । 

जिल्ला सदरमुकाममा आज आयोजना गरिएको कार्यक्रममा नेपाल निजामति कर्मचारी युनियनमा आवद्ध कर्मचारीहरुको सहभागिता रहेको थियो । नेपाल निजामति कर्मचारी युनियन बैतडीका कार्यवाहक अध्यक्ष मनोजप्रसाद भट्टको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामी प्रमुख अतिथी रहेका थिए । 
 

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update