Sagun Khabar
बैतडीमा मलामी बोकेको जिप दुर्घटना : एकजनाको मृत्यु, ५ जना घाइते 

बैतडी –बैतडीमा मलामी बोकको जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका १ स्थित घारडा भन्ने ठाउँमा कच्ची सडकमा जिप पल्टिँदा डिलाशैनी गाउँपालिका १ धावला बस्ने ५० बर्षीय गोपाल बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए । 

सु.प.प्र.०१०००१च ३१४६ नम्बरको जिपमा सवार १३ जना मलामी मध्ये एकजनाको मृत्यु भएको छ भने ५जना घाइते भएका छन् । जिपमा सवार अन्य सकुशल रहेका प्रहरीले जनाएको छ। प्रहरीले जिपमा १३ जना सवार भनेपनि स्थानीयहरुले भने १७ जना सवार रहेको बताएका छन् । बुधबार मृत्यु भएका धनपती धामीको गण्नीगाड खोलामा दाहसंस्कार गरेर फर्कने क्रममा बिहीबार दिउँसो पौने २ बजेतिर जिप दुर्घटनामा परेको स्थानीय लोकेन्द्र धामीले जानकारी दिए ।  

Atrya hospital

दुर्घटनामा परेर डिलाशैनी १ का रतन धामी, मन्धिर धामी, अमर धामी, लोकेन्द्र धामी र सुरेन्द्र बोहरा घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जोशीले जानकारी दिए । उनीहरु सबैको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये रतन धामीको ढाड र कम्मरमा चोट रहेको बताइएको छ । 

कच्ची सडकमा चल्दै गरेको जिप एक्कासी पछाडि आएर सडकमै पल्टेको बताइएको छ । जिप चालक डिलाशैनी ६ बागगोठका धनबहादुर कठायत फरार रहेका बताइएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update