Sagun Khabar
नेपाल नामिबियासँग पराजित, सबैभन्दा छिटो शतक बनाउने कुशल मल्लको रेकर्ड तोडियो

काठमाण्डौ – त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको छ ।

नामिबियाले दिएको २ सय ७ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ७ बल बाँकी छँदै १ सय ८६ रन बनाउँदा अलआउट भयो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ४८, कप्तान रोहित पौडेलले ४२, कुशल मल्लले ३२ र सोमपाल कामीले २६ रन बनाए । नामिबियाका रुबेन ट्रम्पेलम्यानले ४ विकेट लिए ।

स्वास्थ्य सन्देश
Atrya hospital

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नामिबियाले २० ओभरमा ४ विकेट गुमाएर २ सय ६ रन बनायो । नामिबियाका जान निकोल लफ्टी एटोनले कीर्तिमानी शतक बनाए । उनले ३३ बलमै शतक बनाउँदै नेपालका कुशल मल्लको रेकर्ड तोडे । यसअघि नेपालका कुशल मल्लले मङ्गोलियासँगको खेलमा ३४ बलमा शतक बनाएका थिए । लफ्टी एटन ३६ बलमा १ सय १ रन बनाएर आउट भए । यस्तै मलन क्रुगेरले ५९ रन बनाए । नेपालका कप्तान रोहित पौडेलले २ विकेट लिए ।

आजदेखि शुरु भएको शृङ्खलामा नेपाल, नामिबिया र नेदरल्यान्ड्स सहभागी छन् । नेपालले यो शृङ्खलालाई आउने जुनमा हुने टी–२० विश्वकपको तयारीको शुरुवातको रूपमा लिएको छ । नामिबिया र नेदरल्यान्ड्सले पनि विश्वकप खेल्दैछन् ।

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १५:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update