Sagun Khabar
घरमै पुगेर नसर्ने रोगको पहिचान गरिँदै 

बैतडी –बैतडीमा घरघरमै पुगेर नसर्ने रोगहरुको पहिचान गर्न थालिएको छ । पछिल्लो समयमा नसर्ने रोगहरु जनस्वास्थ्यको विकराल समस्याको रुपमा देखा पर्न थालेका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौली अन्तर्गत सञ्चालनमा रहेका नागरिक आरोग्य सेवा केन्द्रहरुले घरघरमै पुगेर नसर्ने रोगहरुको पहिचान गर्न थालेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौलीका प्रमुख हिक्मत चन्दले बताए । 

जिल्लाको पुर्चौंडी नगरपालिका,सुर्नया गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा सञ्चालित नागरिक आरोग्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरुले घरघरमै पुगेर नसर्ने रोगहरुको पहिचान गरिरहेका चन्दले बताए । सुगर अर्थात मधुमेह,उच्च रक्तचाप, मोटोपन लगायतका रोगहरुको पहिचान गर्ने कार्य जारी रहेको उनले बताए । सेवा क्षेत्रभित्रका घरघरमै पुगेर नसर्ने रोगहरुको पहिचान गर्ने कार्य भइरहेको बताइएको छ । 

शिवनाथ गाउँपालिकामा पनि केही दिनभित्रै यो अभियान सञ्चालन हुने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौलीका प्रमुख चन्दले बताए । 

नसर्ने रोगहरुको पहिचान गरेर बिरामीहरुका लागि आवश्यक औषधिहरुको व्यवस्थापन गर्न यो अभियान सञ्चालन गरिएको उनले बताए । 

जीवनशैली,खानपान लगायतका कारणले नसर्ने रोगहरुको जोखिम बढ्दै गएकाले बिरामीहरु पत्ता लगाउन यो अभियान सञ्चालन गरिएको चन्दले बताए । नसर्ने रोगहरुको जोखिमबाट कसरी बच्न सकिन्छ भन्ने बिषयमा समेत स्वास्थ्यकर्मीहरुले नागरिकलाई जानकारी दिइरहेका उनले बताए । 
 

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  ०७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update