बैतडी - बैतडी लगायत सुदूर पहाडमा फेरी हिमपात भएको छ । आइतबार राति उच्च भूभागहरुमा हिमपात भएको हो ।
उच्च लेकाली क्षेत्रहरुमा हिमपात भएको स्थानीयहरुले बताएका छन् । बैतडीको खोड्पे, श्रीभावर लगायतका उच्च क्षेत्रमा हिमपात भएको खोड्पेका स्थानीय मोहन विष्टले बताए । खोड्पेमा यो वर्ष तेस्रो पटक हिमपात भएको उनले बताए । गएको तीनदिनदेखि मौसममा बदली आएको र राति हिमपात भएको उनले बताए । यस्तै श्रीभावर, ढोल्यामोड,गर्जे लगायतका उच्च क्षेत्रमा समेत हिमपात भएको छ ।
यसैगरी बझाङको बित्थडचीर लगायत लेकाली र हिमाली क्षेत्रमा हिमपात भएको छ भने दार्चुलाका उच्च लेकाली र हिमाली क्षेत्रमा पनि हिमपात भएको स्थानीयहरुले बताएका छन् । हिमपात भएसंगै उच्च क्षेत्रहरुमा चिसो बढेको छ । चिसोका कारण जनजीवन प्रभावित बनेको स्थानीयहरुको भनाइ छ । यो बर्ष हिउँदमा खासै बर्षा र हिमपात भएको थिएन् । हिउँद सकिएपछि बर्षा र हिमपात भैरहेको छ ।




