
काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई ३८ रनले हराएको छ ।
जीतका लागि दुई सय २५ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ८६ रन बनायो । उसका अभिषेक शर्माले ७४ रन बनाए पनि टोलीको हार टार्न सकेनन् ।
गुजरातका मोहम्मद सिराज र प्रसिद्ध कृष्णाले समान दुई तथा इशान शर्मा र गेराल्ड कोट्जेले समान एक विकेट लिए ।
त्यसअघि अहमदावादमा टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर दुई सय २४ रन बनाएको थियो ।
उसका कप्तान शुभमन गिलले सर्वाधिक ७६ रन बनाए । त्यस्तै जोश बट्लर ६४ र साई सुदर्शन ४८ रनमा आउट भए । हैदराबादका जयदेव उनादकटले तीन विकेट लिए ।
यो जीतसँगै गुजरातको १० खेलमा १४ अङ्क भएको छ । गुजरात तालिकाको दोस्रो स्थानमा छ । हैदराबाद समान १० खेलमा ६ अङ्कसहित नवौं स्थानमा छ ।
आईपीएल क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) र चेन्नई सुपर किङ्ग्स खेल्दैछन् । खेल बेङ्गलुरुमा नेपाली समय अनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ ।
बेङ्गलुरु १० खेलमा १४ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । समान १० खेलमा चेन्नईको ४ अङ्क छ । तालिकाको पुछारमा रहेको चेन्नई यसअघि नै प्लेअफ होडबाट बाहिरीसकेको छ ।