Sagun Khabar
बजार अनुगमन कार्यलाई तिब्रता

बैतडी–चाडपर्व नजिक आएसंगै जिल्ला प्रशासन कार्यालय बैतडीले बजार अनुगमन कार्य थालेको छ । चाडपर्वको समयमा कालोबजारी हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयको नेतृत्व अन्य सरोकारवाला समेत सहभागि भएर बजार अनुगमन कार्य शुरु गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । 

मंगलबार जिल्लाको सिउडे, सतबाँझ, मुस्याचोर,गुरुखोला र देहीमाण्डौंमा बजार अनुगमन गरिएको उनले बताए । ३३ ओटा पसलमा अनुगमन गर्दा २१ हजार ५ सय बराबरको म्याद नाघेको सामग्री बरामद गरिएको सूचना अधिकारी भारतीले बताउनुभयो । १३ ओटा पसलबाट म्याद नाघेका सामग्री बरामद गरिएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै अनुगमनका क्रममा ७ ओटा पसल दर्ता नभएका पाइएका छन् । अनुगमनका क्रममा विभिन्न खाद्यसामग्री, चाउमीन, बिस्कुट, पिठो लगायतका सामग्री बरामद गरिएका अनुगमन टोलीले जनाएको छ । यस्तै अनुगमनका क्रममा दर्ता नगरी कारोबार गर्ने एकजना व्यापारीलाई २० हजार जरीवाना समेत गरिएको छ । सिउडेका व्यापारी जयबहादुर बिष्टलाई २० हजार जरीवाना गरिएको सूचना अधिकारी भारतीले बताए । दर्ता नगरेको पसलबाटै अर्कै प्यान नम्बरमा कारोबार गरेको देखिएकाले कारवाही गरिएको बताइएको छ । 

अनुगमनमा जिल्ला प्रशासन कार्यालयका साथै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, दशरथचन्द नगरपालिका लगायतका कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

अनुगमन कार्य निरन्तर रुपमा सञ्चालन हुने समेत जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, भदौ १०, २०७८  ०८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update