Sagun Khabar
यूएईलाई हराउँदै नेपाली महिला टोली टी–२० विश्वकपको ग्लोबल छनोटमा

काठमाण्डौ – यूएईलाई हराउँदै नेपाल आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुगेको छ । नेपाली महिला टोली पहिलो पटक टी–२० विश्वकपको ग्लोबल छनोटमा पुगेको हो ।

एशिया छनोटको ‘सुपर–थ्री’ मा यूएईले दिएको १ सय १५ रनको लक्ष्य नेपालले ३ बल बाँकी छँदा ५ विकेट गुमाएर भेटायो । नेपालकी कप्तान इन्दु वर्माले नटआउट ३०, रुबिना क्षेत्रीले २३ रन बनाइन् । यूएईकी मिचेल बोथा, सुरक्षा कोटी, वैष्णवी महेश र ईशा वजाले १÷१ विकेट लिए ।

यसअघि थाइल्यान्डको बैंककमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले २० ओभरमा ७ विकेट गुमाएर १ सय १४ रन बनाएको थियो । यूएईकी कप्तान इशा वजाले सर्वाधिक ३९ रन बनाइन् । नेपालकी मनिषा उपाध्यायले ४ विकेट लिइन् ।

अब नेपालले सुपर–थ्रीको दोस्रो खेलमा भोलि थाइल्यान्डसँग खेल्नेछ । थाइल्यान्ड पनि यूएईलाई हराउँदै ग्लोबल छनोटमा पुगिसकेको छ ।

नेपाल एशिया छनोटमा समूह ’सी’ को विजेता बन्दै सुपर–थ्रीमा पुगेको थियो । यस्तै आयोजक थाइल्यान्ड समूह ’ए’ को र यूएई समूह ’बी’ को विजेता बन्दै सुपर–थ्रीमा पुगेका थिए ।
 

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  १८:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update