दार्चुला –दार्चुलाको उत्तरीक्षेत्र तिङ्कर र छाङरु क्षेत्रका मतदाताका लागि सदरमुकाम खलङ्गा नजिकको टिङ्करखेडामा भन्ने ठाउँमा मतदान गर्न पाउने व्यवस्था गरिने भएको छ ।
जाडो छल्न बेँसीमा बसाइँसराइ गरेका सो क्षेत्रका मतदाताका लागि उनीहरू बसेकै ठाउँ तिङ्करखेडमा मतदानस्थल र केन्द्रको व्यवस्था गर्न लागिएको निर्वाचन कार्यालय दार्चुलाका प्रमुख प्रदीप धामीले जानकारी दिए ।
धामीले तिङ्करखेडास्थित व्यास गाउँपालिका–१ का तिङ्कर गाउँका मतदाताका लागि मौतिमैला सङ्घ आधारभूत विद्यालय र छाङरु गाउँका मतदाताका लागि कैलाशपति आधारभूत विद्यालय गरी दुई मतदानस्थलको व्यवस्था गरिएको बताए । प्रतिकूल मौसमको अवस्थामा गरिएको अनुरोधबमोजिम निर्वाचन आयोगले सो क्षेत्रका बासिन्दा बसेकै ठाउँमा मतदानस्थल र केन्द्रको व्यवस्था गर्न सहमति दिएको धामीले बताए । छाङरु गाउँमा ३७५ र तिङ्करमा २४४ मतदाता छन् ।
ब्यास गाउँपालिका–१ मा आदिवासी सौका समुदायको बसोबास रहेको छ । प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र रहेको दार्चुलामा ९२ हजार ९४८ मतदाता छन् । मतदानका लागि ११२ मतदानस्थल र १४३ मतदान केन्द्र तोकिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा दार्चुलामा ११ जना उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा हुँदैछ ।




