बैतडी - बैतडीको पाटन नगरपालिका –२ स्थित प्रसिद्ध महारुद्र धाममा भोलि खिराइ जात्रा लाग्ने भएको छ । हरेक बर्ष श्रावण १५ गतेका दिन सो मन्दिरमा खिराइ जात्रा लाग्ने गर्दछ ।
स्थानीय जनविश्वास अनुसार महारुद्र देवतालाई अबोला महादेउका रुपमा श्रावण महिनामा खिर चढाइने परम्परा रहेको बताइन्छ । अन्य देवि देवताका गुरु तथा १२ हजार सोराडका अधिपतिका रूपमा महारुद्र धामलाई लिने गरिएको स्थानीय जानकार हरिलाल पन्तले बताए । बैतडीलाई परापूर्वकालदेखि नै देवभूमिका रूपमा चिनिन्छ। महारुद्र मन्दिर भगवान् शिवको प्रत्यक्ष उपस्थिति रहने स्थान भएकाले जिल्लाका अधिकांश क्षेत्रबाट दूध र चामल ल्याएर भक्तजन आउने गरेका स्थानीय संस्कृतिका जानकार पन्तले बताए । स्थानीय भक्तजनबाट संकलित दूध चामलबाट श्रावण १५ गते महारुद्र मन्दिरमा खिर पकाएर प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ ।
यस्तै महारुद्र मन्दिरमा असोजको नवरात्र, चैत नवरात्रमा पनि पूजाआजा हुने गरेको छ । ठूलो जातको रुपमा कार्तिक शुक्ल सप्तमी र अष्टमीको जात्रालाई मान्ने गरिन्छ । महारुद्र मन्दिरको भण्डार घरबाट कार्तिक शुक्ल सप्तमीका दिन भण्डार लगेसंगै ठुली जात्रा शुरु हुने गरेको छ । पाटन नगरपालिका २ सिमोडामा रहेको भण्डार घरबाट कार्तिक शुक्ल सप्तमीका दिन मन्दिरमा भण्डार लग्ने चलन रही आएको छ । शुक्ल सप्तमीको राति र कार्तिक शुक्ल अष्टमीको बिहान महारुद्र देवताको गातमा पूजाआजा गर्ने चलन रही आएको स्थानीय हरिलाल पन्तले बताए ।
श्रावणको महिनामा भने महारुद्र मन्दिरमा दैनिक पुजा आजा गरिन्छ भने श्रावण १५ गतेका दिन खिर चढाएर खिराइ जात्रा मनाइन्छ । खिपाली अवस्थी र निम्तोली पन्त मुख्य पुजारी रहेका महारुद्र मन्दिरमा भण्डारे र धामी भने ऐरी थरका रहेका छन । महारुद्र मन्दिरको मुख्य आकर्षण देवताका धामी काँपेर चौलो जाने परम्परा रहेको बताइएको छ ।
कार्तिक शुक्ल सप्तमी र अष्टमीका दिन लाग्ने ठुली जात (जात्रा) मा देवताका धामी काँपेर रातिको समयमा सिगास देवताको खोजी र बिहानको समयमा ग्वाल्लेक केदारको खोजीमा चौलो जाने परम्परा रही आएको छ । महारुद्र देवताको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएकाले बैतडीका मात्रै नभएर सिमावर्ती दर्शनार्थी सहित विभिन्न ठाउँका भक्तजनहरु जात्रामा पुग्ने गरेका पन्तले बताए ।
महारुद्र देवतालाई न्याय र शान्तिका देवताका रूपमा पुजिन्छ। अन्यायमा परेका वा मनोकांक्षा पूरा नभएका मानिसहरूले मन्दिरमा पुगेर भाकल गर्ने र इच्छा पूरा भएपछि घण्ट, ध्वजा वा अन्य चिनोमानो चढाउने प्रचलन रहेको छ ।
स्थानीय मान्यता अनुसार महारुद्र देवतालाई सात्विक तथा शुद्ध दूध-अन्नको भोग चढाइन्छ। जात्राको समयमा विशेष ढङ्गले तयार पारिएको खीर खिराइ महारुद्र देवतालाई अर्पण गरी भक्तजनहरूबीच प्रसादको रूपमा बाँड्ने गरिन्छ, जसका कारण यस क्षेत्रमा यसलाई खिराइ जात्रा वा परम्परागत सात्विक पूजाका रूपमा स्मरण गर्ने गरिन्छ ।




