काठमाण्डौ – प्रधानमन्त्री बालेन्द्र शाहले आजको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गरेका छन् । गएको १० गते बुधवार बिहान रसुवाको भोटेकोशी नदीमा आएको बाढी, त्यसबाट भएको जनधनको क्षति तथा भइरहेको खोज, उद्धार, उपचार, राहत र नागरिकको व्यवस्थापनलगायतका विषयमा उनले संसद्मा जानकारी गराएका हुन् ।
प्रधानमन्त्री शाहले दृढ सङ्कल्पका साथ विपद्सँग लड्ने प्रतिबद्धता जनाएका छन् । उनले यो पीडा रसुवा, नुवाकोट र धादिङको मात्र नभई सिङ्गो नेपालको साझा वज्रपात रहेको बताए । देशमा सङ्कट परेको बेला नेतृत्वले आड र भरोसा दिनुपर्नेमा उनको जोड छ ।
रसुवाको बाढीले ज्यान गुमाउनेको सङ्ख्या एक हजार ११४ जना पुगेको छ । फेला परेका शवमध्ये अहिलेसम्म ९५ जनाको सनाखत भई आफन्तलाई बुझाइएको छ ।
अहिलेसम्म २९२ जना घाइते भएका छन् जसमध्ये १८२ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने अन्यको उपचार चलिरहेको छ । अझै ३ हजार ९१६ जना सम्पर्कविहीन छन् । अहिलेसम्म ११ हजार ९९३ जनाको उद्धार भएको छ ।
सरकारले प्रभावित जिल्ला र पालिकाका लागि राहत रकम निकासा गरेको प्रधानमन्त्री शाहले जानकारी गराएका छन् ।




