बैतडी –बैतडीको पाटनमा अटो दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । पाटन नगरपालिका–६ स्थित बजारबाट विमानस्थल जाने गेट नजिकै बुधबार बिहान अटो दुर्घटना भएको हो ।
से १ ह ४६६२ नम्बरको अटो दुर्घटना हुँदा पाटन नगरपालिका–६ का ६५ वर्षीय किडी औजी, २२ वर्षीय मनिष औजी र २१ वर्षीय जीवन औजी घाइते भएका इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।
दुर्घटनामा किडीको टाउकोमा सामान्य चोट लागेको छ भने मनिषको पाखुरा र जीवनको खुट्टामा चोट लागेको छ । घाइते तीनै जनालाई पाटनस्थित डीएस मेडिकलमा प्राथमिक उपचारपछि थप उपचारका लागि धनगढी पठाइएको प्रहरीले जनाएको छ ।
अटो चालक हरिश खत्रीलाई इलाका प्रहरी कार्यालय पाटनले नियन्त्रणमा लिएको छ । तीव्र गतिका कारण अटो दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





