बैतडी–गएको भदौ १० गते रसुवामा आएको भीषण बाढीपछि बेपत्ता भएका बैतडीका केशव बिष्टको कुशको शव बनाएर अन्तेष्टी गरिने भएको छ ।
बाढीपछि सम्पर्कविहिन भएका सुर्नया–५ ककस्यालीका २५ बर्षीय बिष्ट लामो समयसम्म सम्पर्कविहिन भएपछि परिवार कुशको शव बनाएर अन्तेष्टी गर्ने निर्णयमा पुगेको हो ।
बिष्टको खोजी गर्दा अहिलेसम्म फेला नपरेपछि धार्मिक विधि अनुसार कुशको शव बनाएर बिष्टको अन्तेष्टी गर्ने तयारी भएको उनका ठूलोबवा भानबहादुर बिष्टले बताए ।
बिष्टको सुर्नया–५ स्थित चनैराज आर्यघाटमा बिहीबार अन्तेष्टी गरिने उनले बताए । बिहीबार बिहान ककस्यालीबाट शवयात्रा शुरु हुने र चनैराज आर्यघाटमा अन्तिम संस्कार गरिने बिष्टले बताए ।
रसुवास्थित लाङटाङ हाइड्रो पावरमा बिष्ट विगत दुई बर्षदेखि सव–इन्जिनियर पदमा कार्यरत रहेका थिए । रसुवा बाढीपछि उनी बेपत्ता भएका थिए ।
बिष्टको घरमा आमा–बुवाका साथै एक भाइ र बहिनी रहेका छन् । बिष्टको निधनले ककस्याली गाउँ शोकमा डुबेको छ । बाढीपछि सम्पर्कविहिन भएका बिष्ट फर्कने आशा सकिएपछि कुशको शव बनाएर अन्तेष्टी गर्न लागिएको पारिवारिक श्रोतले जनाएको छ ।





